तीन महीनाभन्दा धेरै अवधिका ट्रेजरीको ‘डिस्काउकान्ट रेट’ समेत घट्यो, अन्तर बैंकदर १ प्रतिशतमा

0
Shares

वित्तीय प्रणालीमा निक्षेप बढेसँगै लामो समय अवधिका ट्रेजरी बिल्सको ‘डिस्काउन्ट रेट’ पनि घट्न थालेको छ । बैंक तथा वित्तीयमा थपिएको निक्षेपको अनुपातमा कर्जाको माग नभएपछि अल्पकालिन लगानीमा प्रतिस्पर्धा बढेसँगै ‘डिस्काउन्ट रेट’ घटेको हो । राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट २ र सो भन्दा धेरै अवधिको ५ देखि ६ प्रतिशतको हाराहारीमा कायम भएको थियो । तर, असोज २२ गते सोमबार जारी भएको लामो अवधिका ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि ४ प्रतिशतको हाराहारीमा झरेको छ ।

स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न पाएसँगै वित्तीय प्रणालीमा झनै अधिक तरलता हुने गरेको छ । त्यससँगै दसैं नजिकिएका कारण रेमिट्यान्स आउने क्रममा समेत वृद्धि भएपछि निक्षेप झनै बढ्न पुगेको छ । केन्द्रीय बैंकका अनुसार गत साताको शुक्रबार मात्रै बैंकिङ प्रणालमिा १३ अर्ब रुपैयाँ थपिएको थियो । उक्त निक्षेप थपिएसँगै वित्तीय प्रणालीको औसत अन्तर बैंक दर १.७५ प्रतिशतमा झरेको थियो ।

पछिल्लो समयमा आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जाको माग बढ्न सकेको छैन । कर्जाको माग नबढ्दा बैंक वित्तीय संस्थाले निक्षेपलाई सरकारी ऋणपत्रमा लगानी गरेर लागत कम गर्नु परेको अवस्था छ । तरलतामा दबाब पर्ने पुर्वअनुमान गर्दै केही बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएका थिए । तर, प्रणालीको अवस्थामा त्यसको ठिक विपरित हुन पुग्यो । त्यसले गर्दा पनि बैंकहरुलाई लागत कम गर्न थोरै ब्याज आम्दानीका लागि पनि उच्च प्रतिस्पर्धा गरेर सरकारी ऋणपत्रमा लगानी केन्द्रीय गरेको अवस्था छ ।

बैंकहरुले अधिक तरलता भएको र अन्तर बैंकदर निक्षेप संकलन दर अर्थात ४.५ प्रतिशत भन्दा तल आएको अवस्थाको निक्षेप संकलन वा स्थायी निक्षेप सुविधाको व्यवस्था हुने अपेक्षा गरेका थिए । तर, केन्द्रीय बैंकले विकास ऋणपत्र र ट्रेजरी बिल्स मार्फत प्रणालीको तरलता व्यवस्थापनको नीति लिएपछि ट्रेजरी तथा विकास ऋणपत्रको ब्याजदर पनि घट्दो क्रममा देखिएको हो ।

यो साताको सोमबार केन्द्रीय बैंकले ९१, १८२ र ३६४ दिने गरी कुल १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स निष्कासन गरेको थियो । सोमबार जारी भएका सबै खालका ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घटेको छ । त्यसैगरी केन्द्रीय बैंकले निष्कासन गरेको सबै ट्रेजरी बिल्स बिक्री भएको छ भने आवेदन पनि माग भन्दा अधिक परेको छ । सोमबार ९१ दिने ट्रेजरीको डिस्काउन्ट रेट करिब एक प्रतिशत विन्दुले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

सोमबार निष्कासन भएको ८ अर्ब रुपैयाँ बरावरको ९१ दिन ट्रेजरीको औसत डिस्काउन्ट रेट ४.३३६१ प्रतिशतमा झरेको छ । यसभन्दाअघि असोज १६ गते निष्कासन भएको ९१ दिने ट्रेजरीको डिस्काउन्ट रेट ५.०५२६ प्रतिशत कायम भएको थियो । त्यसैगरी सोमबार निष्कासन भएको ६ अर्ब ४६ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट ५.१९६४ प्रतिशत कायम भएको छ । यसभन्दा अघि असोज १६ गते सोही प्रकृतिको ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.३४९८ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार सोमबार निष्कासन भएको ३ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरीको डिस्काउन्ट रेट पनि घटेको छ । सोमबार ३६३ दिने ट्रेजरीको बिल्सको डिस्काउन्ट रेट ५.६७७९ प्रतिशतमा झरेको छ । यसअघि असोज २ गते निष्कासन भएको ३६३ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ६.२२१८ प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार  १८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।