पौरख गर्नेलाई व्यवसायिक कृषिबाटै मनग्य आम्दानी, वार्षिक २० लाख धेरै आम्दानीबाट घर घडेरी

0
Shares

पौरख गर्न सके स्वदेशमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापा र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले । यी दुईले कृषि पेसाबाट वार्षिक १२ लाख देखि २० लाख रुपैयाँसम्म आम्दानी गरी पैसा कमाउन विदेशमा नै जानुपर्छ भन्ने भ्रमलाई तोड्ने प्रयास गरेका हुन् ।

कृषिमा नै दैनिकी बितिरहेको तनहुँ आपस्वाँराका ५० वर्षीय धनबहादुर थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक १२ लाख आम्दानी गरिरहेका छन् भने सन्धिखर्क किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा २० लाख आम्दानी गर्ने गरेका छन् । बञ्जाडेको देखासिकीबाट किमडाँडाका सिङ्गो गाउँवासी नै अहिले तरकारी खेतीमा समेत लागेका छन् ।

तनहुँको आपस्वाँराका थापाले विसं २०७५ मा ‘सप्तरङ्गी कृषि तथा पशु फार्म’ दर्तापछि गरी भीमाद बजारबाट सात किलोमिटरमाथि सुरुङमार्गको किनारामा फार्म सञ्चालन गरेका थिए । “बारीका ढिस्कामा मौरीका घार लहरै बनाएको छु । बारीका वरपर बुट्यान भएकाले मौरीलाई फूलका रस ल्याउन सजिलो हुन्छ”, व्यावसायिक रुपमा कृषि पेसा सुरु गरेका उनले भने, “युवाहरु रोजगारीको खोजीमा दैनिक ठूलो सङ्ख्यामा विदेशिएका छन् । उनीहरुलाई रोक्नका लागि सरकारले कृषि क्षेत्रमा लगानी गरी काम गर्ने वातावरण बनाउनुपर्छ । दुःख गर्दा स्वदेशमै कमाउन सकिन्छ ।”

पाँच वर्षदेखि कृषि पेसा गर्दै आएका उनले यसवर्ष १२ लाख आम्दानी गरेको बताए । थापाका अनुसार फार्ममा हाल ४० वटा मौरी सहितका घार रहेका छन् । यसवर्ष मौरीको गोला र मह उत्पादनबाट मात्रै ४ लाख रुपैयाँ आम्दानी भएको थापाले जानकारी दिए । उनका अनुसार एक गोला मौरीसहितको घार १० हजार र महको मानाको १ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । त्यस्तै १ हजार १०० कुखुरा बिक्री गरी ५ लाख र बाख्राबाट ३ लाख आम्दानी भएको थापाको भनाइ थियो । मौरीपालन व्यवसाय गर्नका लागि कृषि ज्ञान केन्द्र तनहुँले दुई लाख, भीमाद नगरपालिकाले खानेपानीको पाइप खरिदका लागि ७० हजार अनुदान दिएको उनले जानकारी दिए । उनका अनुसार उक्त आम्दानी फार्मको स्तरोन्नतिमा खर्च भएको छ ।

चालीस रोपनी जग्गामा कृषि पेसा सुरु गरेका थापाले आठ रोपनी जग्गामा उन्नत जातका घाँस तथा फलफूल खेती गरेका छन् । उनले भने, “विसं २०४८ देखि सामाजिक क्षेत्रमा लागेको थिए । यसबाट गाउँसमाजमा सहयोग पुगे पनि आफ्नो आर्थिकस्तरका कारण अब आत्मनिर्भर बन्नुपर्छ भन्ने लागेर कृषि पेसा सुरु गरेको हुँ ।” स्थानीय जनज्योति क्याम्पस र माझकोट साना किसान सहकारी संस्थाको अध्यक्ष तथा कोष प्राथमिक विद्यालयका संस्थापक अध्यक्ष भइसकेका थापाको दैनिकी यतिबेला बिहान ४ बजेदेखि राति १० बजेसम्म कृषि फार्ममा बित्ने गरेको छ ।

बगैँचामा आँप, लिची, सुन्तला लगायतका फलफूलका बिरुवा देखाउँदै यस वर्ष लिची र आँप बिक्री गरी ३ लाख आम्दानी गर्ने लक्ष्य रहेको उनको बताए । सरकारले कृषि कर्जा सहुलियत दरमा उपलब्ध गराएमा कृषि व्यवसायतर्फ सबैको आर्कषण बढ्ने उनको भनाइ थियो ।

तरकारी खेतीबाटै वार्षिक २० लाख कमाउँछन् पुष्कर, ३ करोडभन्दा बढीको घर-घडेरी 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा २० लाख आम्दानी गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर २५ रोपनी बारी र सात रोपनी खेतमा उनले तरकारी खेती गर्दै आएका हुन् । बञ्जाडेले गरेको देखासिकीबाट सिङ्गो गाउँवासी समेत अहिले तरकारी खेतीमा लागेका छन् ।

उनले भने, “अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेको मान्छे भनेर इष्र्या गर्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।” बञ्जाडे जिल्लाकै नमूना कृषक हुन् । सामान्य परिवारमा जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमूलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाउँदै आएका छन् ।

घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले १ हजार ८०० बोट लगाएका छन् । सबै बोटमा लटरम्मै काँक्रो फलेको छ । हाइटेक प्रविधिबाट टमाटर खेती सुरु गर्नुभएका उनले एउटा हाइटेक प्रविधिबाट र स्थायी टनेलमा लगाएको काँक्रो खेतीबाट यो याममा ७ लाख बराबरको काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन् । दैनिक तीन-चार क्विन्टल फलेका काँक्रोले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्म थोक मूल्यमा काँक्रा बिक्री गर्नाका साथै दैनिक १० हजार बराबरको अन्य तरकारी पनि सन्धिखर्क बजारमा बञ्जाडेले बिक्री गरिरहेका छन् ।

उनले भने, “गरेपछि जुन काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीे सुरुआत गर्नुभएका उनलाई ५ करोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ । तरकारीबाट वर्षमा १५ लाख सजिलै कमाएपछि बञ्जाडेले ३ करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए ।

पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साह्रै समस्या छ । बारीमा आकाशे पानी सङ्कलन गर्न ५० हजार लिटरको पानी सङ्कलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बञ्जाडेले बनाएका छन् । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिइएकाले धेरै यतातिर तानिएका छन् ।

बर्सातको समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । “अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा बढी गर्व भयो,” पुष्करनाथले भने, “पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्‍याए ।” -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार  १४ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।