पाँचौं कारोबार दिनमा नेप्सेमा सामान्य अंकको सुधार, कारोबार अर्बमै सीमित

0
Shares

लगातार चार कारोबार दिनमा ७८ अंकभन्दा धेरैले घटेको बजार सूचक बुधबार सामान्य अंकले बढेको छ । गत बुधबारपछि घट्न थालेको बजार सूचक यो साताको बुधबार आएर झिनो अंकले बढेको हो ।

राष्ट्र बैंकले बिहीबार सेयर धितो कर्जातर्फ व्यक्तिगतमा ३ करोड र संस्थागततर्फ ८ करोडले वृद्धि गरेपनि लगानीकर्ता असन्तुष्ट हुँदा बजारमा निरन्तर गिरावट आइरहेको थियो । सीमा वृद्धिपछि व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोड पुर्याएपनि लगानीकर्ताले यो सीमा वृद्धिमा सन्तुष्ट छैनन् ।

सेयर लगानीकर्ता सुरेन्द्र महर्जन नेपाल धितोपत्र बोर्डले एकातिर प्राथमिक सेयर र हकप्रद सेयरको बाढीले ल्याई रहेको अवस्था र अर्कातिर संस्थापक सेयर र हकप्रद सेयरको लिलामी धमाधम निष्कासन भईरहेको अवस्थाका कारण बजारमा गिरावटले निरन्तरता पाएको बताउँछन् । माथिका दुई कारणले दोस्रो बजार धरासायी बनाउन मद्दत पुर्याई रहेको उनको बुझाई छ। जबसम्म सूचीकृत कम्पनीहरूका लाभांश वितरण क्षमतामा वृद्धि हुँदैन तथा बैंक तथा वित्तीय संस्थाका सेयर कर्जाको ब्याजदर एकल बिन्दूमा घट्दैन र एनआरएनहरुलाई दोस्रो बजार खुल्ला गरिँदैन तबसम्म नेप्सेमा उल्लेखनीय बढोत्तरीको सपना देख्नु मूर्खता मात्र हुने उनले बताए ।

नेप्से सामान्य बढेपनि बुधबार कारोबार रकम भने एक अर्ब रुपैयाँमा नै सीमित रहेको छ । नेप्से ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा कायम भएको छ । आज २८६ कम्पनीका ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर ५५ हजार १९७ वटा संङ्ख्यामा खरिद बिक्री हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९८० रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये १० वटा उपसूचकमा हरियाली छाएको छ भने ३ वटा घटेको छ । ब्यापार ०.१३, उत्पादन तथा प्रशोधन ०.१३ प्रतिशत र निर्जीवन बीमा ०.०६ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन सर्वाधिक १.८० र म्युचुअल फण्ड १.०७ प्रतिशतले बढेको छ ।
बुधबार कारोबार रकमका आधारमा माण्डु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । माण्डूको ४ करोड ८० लाख ९० हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, एनआईसी एशिया बैंकको ३ करोड ५४ लाख, नबिल बैंकको ३ करोड ३१ लाख, हाथवे इन्भेष्टमेन्टको ३ करोड १९ लाख र रिलायबल नेपाल लाइफको २ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आजदेखि कारोबारमा आएका माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट सहित सिटि होटल, समता लघुवित्त र सयपत्री हाइड्रोापवरको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि भएको छ । यसदिन माण्डु हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४१० रुपैयाँ ५० पैसा, हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३१३ रुपैयाँ ७० पैसा, सिटी होटलको सेयरमूल्य १० प्रतिशतले बढेर ६४३ रुपैयाँ ५० पैसा र समता लघुवित्तको ९.९२ प्रतिशतले बढेर ६७६ रुपैयाँ र सयपत्री हाइड्रोपावरको सेयरमूल्य ९.८५ प्रतिशतले बढेर ५४४ रुपैयाँ पुगेको छ । यस्तै एशियन हाइड्रोपावरको ६.१७ प्रतिशत, एनएमबि हाइब्रिड फन्ड एल–१ को ५.०४ र प्रोगेशिभ फाइनान्सको ५ प्रतिशतले बढेको छ ।

बुधबार सेयर बजारमा सामान्य बढेपनि सानिमा जिआईसी इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ४.२१ प्रतिशतले घटेर ४७८ रुपैयाँमा झरेको छ । त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको ३.४१, बुद्धभूमि नेपाल हाइड्रोपावरको ३.४० प्रतिशत, सुपर मादी हाइड्रोपावर ३.३१ र बीपीडब्लू लघुवित्तको ३.२३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।