मिड सोलु हाइड्रोपावरको आईपीओ डिम्याट खातामा जम्मा

0
Shares

मिड सोलु हाइड्रोपावरको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ असोज २३ गते मंगलबार सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।

कम्पनीको सेयर एमएसएचएल (MSHL) सिम्बोलमा जम्मा भएको छ । कम्पनीको सेयर नेप्सेमा भने सूचीकृत हुने प्रकृयामा रहेको छ । नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि मात्र कम्पनीको धितोपत्र खरिद बिक्रीमा आउनेछ । कम्पनीको नेटवर्थलाई आधार मान्दा कम्पनीको आईपीओ दोस्रो बजारमा न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म कारोबार खुल्न सक्नेछ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ छ ।

हाइड्रोपावरले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँ दरमा ६ लाख २१ हजार १७२ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको आइपीओ गोलाप्रथा मार्फत ६२ हजार ११७ जना सर्वसाधारणले पाएका थिए । जसमध्ये ६२ हजार ११७ जनाले १० कित्ताका दरले र भाग्यामानी २ जनाले थप १–१० कित्ता गरी ११ कित्ताका दरले सेयर हात पारेका थिए ।

यस्तै कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि ७ लाख ४८ हजार ४०० कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेकालाई ७४ हजार ८४० कित्ता बाँडफाँड गरेको थियो । यस्तै ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोष र १४ हजार ९६८ कित्ता कर्मचारीलाई छुट्याइएको थियो ।

मिड सालु हाइड्रोपावरले जारी पुँजी ७४ करोड ८४ लाखको २० प्रतिशतले हुन आउने १४ लाख ९६ हजार ८०० कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीले सोलुदुम्बु जिल्लामा प्रवद्र्धन गरेको ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाबाट २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन गरिरहेको छ । कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ रहेको आयोजनाको प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार छ ।

सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमती ३२ वर्ष ६ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.११ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.८७ वर्ष रहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–११ बानेश्वरमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।