रमेश कर्पको लगानी रहेको लिटमस इन्डष्ट्रिजको आम्दानी पौने चार अर्ब

0
Shares

व्यापारिक घराना रमेश कर्पको लगानी रहेको लिटमस इन्डष्ट्रिजले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ८५ करोड ५० लाख सञ्चालन आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३८ करोड ३० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७९/८० मा ६१.७७ प्रतिशतले बढेको हो।

कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै अन्य वित्तीय सूचांकमा समेत सकरात्मक सुधार आएको छ । अघिल्लो आवमा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ७.५७ प्रतिशत थियो । उक्त नाफा आव २०७९/८० मा बढेर ८.४७ प्रतिशत पुगेको हो ।

सन् १९७८ मा लुम्बिनी विद्युत उद्योग प्रालि नामबाट सञ्चालनमा आएको कम्पनीको नाम सन् २०२२ मा परिवर्तन गरी सन् २०२२ मा लिट्मस इन्डष्ट्रिज लिमिटेड राखिएको थियो । यो कम्पनी आइएसओ ९००१ः२०१५ सर्टिफाइड कम्पनी हो । नेपालमै पहिलो पटक कम्पनीले ह्यालोजन फ्री इकोवायर–जेएच वायरको निर्माण सुरु गरेको छ ।

यस बाहेक कम्पनीले एरियल बन्च्ड केबल (एबिसी केबल), मूस कन्डक्टर, घर तथा भवनहरुमा वायरिङका लागि प्रयोग हुने वायरहरुको उत्पादन गर्दै आएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई विगत दुई दशकदेखि एबिसि वायर, मूस कन्डक्टर उपलब्ध गराउँदै आएको छ ।

नेपालभर कम्पनीका १४३ वटा रजिष्टर गरेका शाखाहरु उपलब्ध छन् । हाल कम्पनीले ‘लिटमस केवल’ र ‘लोटस वायर’ ब्रान्डनामबाट वायरहरुको बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा रमेश कर्पको लगानी रहेको छ भने शुशिल गुप्ता कम्पनीका अध्यक्ष र रोहित गुप्ता कम्पनीका प्रबन्ध निर्देशक रहेका छन् । कम्पनीमा सञ्जय अग्रवाल, प्रतीक जलान, आकांक्षा गुप्ता र आनन्ल माल बैद निर्देशक रहेका छन् । कम्पनीमा शुशिल गुप्ता र रोहित गुप्ताको समान ४९.७८ प्रतिशत सेयर हिस्सा रहेको छ ।

कम्पनीले ४ अर्ब ९७ करोड ८० लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १ अर्ब ४९ करोड ३० लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र ४ अर्ब ४९ करोड ७० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.२१ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।