सिटिजन्स बैंकको लाभांश पारित

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७ औं वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश पारित भएको छ ।

असोज २६ गते शुक्रबार सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरुलाई चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरिएको छ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि सभाले पारित गरेको छ ।

त्यसैगरी, उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्तिका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

साधारण सभाबाट प्रवल जङ्ग पाण्डे,सीता कार्की के.सी, सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्य मा निर्वाचित भएका छन् । सभाका अध्यक्षले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराएका थिए ।

साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।