सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता संस्थापक सेयरको बिक्री खुला

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले ५ लाख ४९ हजार ५७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापकसेयरधनीहरुबाट आवेदन माग गरेको हो ।

दुई संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्न बैंक समक्ष निवेदन दिएपछि बैंक सञ्चालक समितिको बैठकले रित पुयाई बिक्री गर्न प्रक्रिया अघि बढाउने निर्णय गरी बिक्री खुला गरेको हो । बैंकले बैंकका संस्थापक सेयरधनी प्रदीप कुमार केडिया वीरगञ्जको नाममा रहेको ४ लाख ५४ हजार ५६३ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालि नक्सालको नाममा रहेको ९५ हजार १० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरहरु खरिदका लागि हाल कायम बैंकका संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । उनीहरुले आजको मितिले ३५ दिन कार्यालय समयभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ । निवेदनमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र रकमको व्यहोरा खुलाई लिखित आवेदन दिनुपर्ने बैंकको भनाई छ । तोकिएको म्याद भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट उल्लिखित सम्पूर्ण सेयर विक्री नभएमा प्रचलित कानून बमोजिम गैर संस्थापक व्यक्ति वा संस्थालाई समेत बिक्री गर्ने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनको व्यवस्था बमोजिम पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरुलाई नै खरिदको पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोही अनुसार संस्थापक सेयर खरिद गरि लिन ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुलाई पहिलो चरणमा बैंकले संस्थापक सेयरको बिक्री खुला गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।