लक्ष्मी स्टील्सको आम्दानीमा वृद्धि, वार्षिक साढे ९ अर्बको कारोबार


सौरभ ग्रुपको लगानी रहेको लक्ष्मी स्टील्सको सञ्चालन आम्दानीमा बढेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ९ अर्ब ४५ करोड ६९ लाख रुपैयाँ बराबरको आम्दानी गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ८ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको आम्दानी गत आव (२०७९/८०)मा ९० करोड ४ लाख अर्थात् १०.५२ प्रतिशतले बढेको हो । कम्पनीको सञ्चालन आम्दानी बढेता पनि कम्पनीको ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको नाफामा गिरावट आएको छ । अघिल्लो आवमा कुल सञ्चालन आम्दानीको ६.८ प्रतिशत रहेको सो नाफा गत आवमा घटेर ५.४९ प्रतिशत पुगेको हो ।

नेपालका दुई ठूला व्यापारिक घराना न्यौपाने तथा अग्रवाल परिवारको संयुक्त लगानी रहेको यो कम्पनी सन् २००८ मा स्थापना भएको हो । कम्पनीमा न्यौपाने परिवारको लगानी ५२ प्रतिशत र अग्रवाल परिवारको लगानी ४५ प्रतिशत रहेको छ । कम्पनीका अध्यक्ष टिकाराम न्यौपाने हुन् ।

कम्पनीले टिएमटी छड, रिब्ड वायर, बाइन्डीङ वायरको उत्पादन गर्दै आएको छ । कम्पनीले लक्ष्मी स्टील्स ब्रान्डनामबाट टीएमटी छडको बिक्री वितरण गर्दै आएको छ । कम्पनीको टिएमटी छड र रिब्ड वायर उत्पादन गर्न सक्ने क्षमता २ लाख मेट्रिक टन प्रति वर्ष रहेको छ ।

कम्पनीले २ अर्ब ९२ करोड २५ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले २२ करोड २५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र २ अर्ब ७० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीले उपलब्ध गराएको वित्तीय विवरणका अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २ गुणा रहेको छ । यस अघि कम्पनीको सो क्षमता चार गुणा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।