टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो


नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ । बिहीबार मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हात निकाल्यो ।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो । नेपालका ओपनर कुशल भुर्तेल ८ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर आसिफ शेखले ४२ रन जोडे । आसिफले ३४ बलमा ६ चौका प्रहार गरे । कुशल मल्ल १ रन र सन्दीप जोरा ३ रनमै आउट भए । दुवैलाई हङकङका इशान खानले बोल्ड गरे । खानले कुशल भुर्तेललाई पनि बोल्ड गरेका थिए ।

कप्तान रोहितकुमार पौडेलले नटआउट २५ रन र गुल्सन झाले नटआउट १४ रन बनाए । रोहितले २० बलमा १ चौका र २ छक्का तथा गुल्सनले ५ बलमा २ छक्का हिर्काए ।

बलिङमा हङकङका इशान खानले ३ विकेट लिएन सफल भए ।

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो । हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए । जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खान बोल्ड भएका थिए । करणले हङकङका सुरूवाती तीन ब्याट्सम्यानलाई आउट गरेका थिए। हङकङले पावरप्लेमा २० रन जोड्दा ४ विकेट गुमाएको थियो ।

बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए । यस्तै सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिए । यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो । अब नेपालले शनिबार हङकङ र सोमबार युएईसँग खेल्नेछ । त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।