बैंक वित्तीय संस्थाले हरेक वर्ष सिस्टम अडिटको रिपोर्ट राष्ट्र बैंकमा बुझाउनु पर्ने

0
Shares

बैंक तथा वित्तीय संस्थाले हरेक वर्ष सिस्टम अडिट गर्नु पर्ने भएको छ । प्रविधि क्षेत्रका देखिएको जोखिम न्यूनीकरण गराउनका लागि केन्द्रीय बैंकले आफु मातहतका संस्थाले प्रयोग गर्ने सिस्टमको अडिट अनिवार्य गरेको हो ।

राष्ट्र बैंकले गत असोजमा बैंक वित्तीय संस्थालाइ सिस्टम अडिट गर्नु पर्ने व्यवस्था गरेपनि समय अवधि तोकेको थिएन । गत भदौ महिनामा नेपालका विभिन्न बैंकहरुका एटिएम ह्याक गरी कराडौ रुपैयाँ लुटिएपछि केन्द्रीय बैंकले सिस्टम अडिट गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, कहिले कसरी र कुन कुन क्षेत्रको सिस्टम अडिट गर्ने भन्ने विषयमा नवोलेको केन्द्रीय बैंकले चालु आर्थिक वर्षको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशीका मार्फत विस्तृत रुपमा व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले सिस्टम अडिट गराई प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र केन्द्रीय बैंकमा प्रतिवेदन पेस गर्नु पर्ने व्यवस्था गरेको हो । बैंक वित्तीय संस्थाले सिस्टम अडिट गर्दा युजर अथेन्टीकेसन सम्बन्धमा, आन्तरिक तथा वाह्य पक्षबाट प्रणालीमा पुग्न सक्ने सम्भावित जोखिम सम्बन्धमा, सूचनाको सुरक्षा, प्रणालीमा भएका जोखिमहरुको, डाटा वेस र कारोबार सुरक्षा, नेटवर्क र हार्डवयर सेक्यूरीटी, डिजास्टर रिकभरी सम्बन्धी व्यवस्था तथा कार्यान्वयनको अवस्थाको अडिट गरी नेपाल राष्ट्र बैंकलाइ बुझाउनु पर्ने व्यवस्था गरेको हो ।

त्यसैगरी एकीकृत निर्देशन अनुसार प्रणालीमा प्रत्यक्ष पहुँच रोक्न सक्ने उपाय तथा आधारहरु, अनअथोराइज्ड एटेम्टका विवरणहरु, प्रणालीमा सम्भावित जोखिम भए सो सम्बन्धी विवरणहरुको सिस्टम अडिट गरी केन्द्रीय बैंकमा पेस गर्नु पर्ने व्यवस्था छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संसथाहरुलाई भुक्तानी प्रणाली परीक्षण बाट प्राप्त भएका कैफियतहरु सुधार गरी नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागमा जानकारी गराउनु समेत निर्देशन दिएको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाले प्रविधिमा आधारीत बैंकिङ सेवा विस्तार गर्दै गएको भएपनि त्यसवाट हुने जोखिम न्यूनीकरणका लागि सिस्टम अडिट गर्ने अभ्यास भने गरेका छैनन् । बैंक वित्तीय संस्थाले सिस्टम अडिट नगर्ने कारणले पनि समय समयमा प्रविधिको कजोरीलाई प्रयोग गरी विभिन्न खालका वित्तीय अपराधहरु हुने गरेपछि केन्द्रीय बैंकले सिस्टम अडिट गर्नु पर्ने व्यवस्था गरेको हो ।