विकास बैंक र फाइनान्स कम्पनीले क्रेडिट कार्ड जारी गर्न नपाउने

0
Shares

नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई क्रेडिट कार्ड जारी गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । राष्ट्र बैंकको यो व्यवस्थाले विकास बैंक र फाइनान्स कम्पनी झनै निरास भएका छन । 

सरकारी कारोबार गर्न विकास बैंक र फाइनान्स कम्पनीलाई रोकेको राष्ट्र बैंकले क्रेडिट कार्डपनि जारी गर्न रोकेपछि यो क्षेत्रका सरोकारवाला झनै निरास देखिएका हुन् । राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीले आफ्ना ग्राहकलाइ १५ लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा विना धितो दिने अनुमती दिएको भएपनि क्रेडिट कार्ड जारी गर्न रोकेको हो ।

राष्ट्र बैंकले किन क्रेडिट कार्ड जारी गर्न विकास बैंकलाइ रोकेको भन्ने विषयमा अन्योलमा रहेको एक विकास बैंकका प्रमूख कार्यकारीले बताए । “प्रशनल ग्यारेन्टीमा विना धितो १५ लाख रुपैयाँसम्म कर्जा दिन अनुमती दिने तर, एक लाख सम्मको क्रेडिट कार्ड जारी गर्न रोक लगाउनु तर्क संगत भएन,” ती बैंकरले भने, “विकास बैंकहरुले भिजा डेविट कार्ड जारी गर्छन भने क्रेडिट कार्ड रोक्नु पर्ने आवश्यकता नै छैन ।” अन्तरष्ट्रिय रुपमा चल्ने डेविट कार्ड जारी गर्ने विकास बैंक तथा फाइनान्स कम्पनीलाई क्रेडिट कार्ड जारी गर्न नपाउदा पनि खासै असर भने हुदैन । तर, विकास बैंकका ग्राहकले क्रेडिट कार्ड लिन खोजेको खण्डमा अर्को संस्था जानु पर्ने अवस्था बनेको उनले बताए ।

तर, फाइनान्स कम्पनीले क्रेडिट कार्ड जारी गर्दा बाणीज्य बैंकसंग सहकार्य गरेर गर्न सक्ने फाइनान्स एशोएिसनका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । तुलाधरले पनि विना धितो व्यक्तिगत ग्यारेन्टीमा १५ लाख सम्म कर्जा दिन अनुमती दिने तर एक लाख रुपैयाँसम्मको क्रेडिट कार्ड जारी गर्न नदिनु विडम्बनाको विषय रहेको बताए । क्रेडिट कार्डको प्रयोग सुरु भएको पनि धेरै नभएको हुनाले अहिले नदिएपनि खासै असर भने नगर्ने तुलाधरको तर्क छ ।

नेपाल राष्ट्र बैंक केही दिन अघि भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त “क” वर्गका बैंकले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

निर्देशन अनुसार राष्ट्र बैंकवाट अनुमतिपत्रप्राप्त “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड बाहेकका अन्य विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न सक्ने व्यवस्था छ । तर, बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले स्वदेशी मुद्रामा मात्र प्रिपेड कार्ड जारी गर्न सक्ने निर्देशनमा उल्लेख गरेको छ ।