पठाओले समयसापेक्ष अपग्रेड गर्न परिवर्तन गर्यो लोगो

0
Shares

राइड सेयरिङका रुपमा चर्चामा आएको पठाओले आफूलाई समयसापेक्ष बनाउन र फिचरहरु अपग्रेड गर्दै पुरानो लोगो परिवर्तन गरेको छ ।

झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको पुरानो लोगो परिवर्तन भई नयाँ लोगोमा नागवेली बाटो र सडक थिममा पठाओको पहिलो अङ्ग्रेजी अक्षर पि लेखिएको छ । पठाओको नयाँ लोगो बिश्वब्यापी रुपमा अक्टोबर २५ देखि लागू भएको हो ।

पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरुलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

नेपालमा सन् २०१८ देखि सञ्चालनमा आएको पठाओले सुरुवाती समयमा राइड सेयरिङको सेवा मात्रै प्रदान गरेको थियो । विगत ५ वर्ष यता पठाओले विभिन्न सेवाहरु थप गर्दै हाल ६ वटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरु प्रदान गरिरहेको छ । आगामी दिनमा पठाओले सेवाहरु थप्दै जाने र ग्राहकलाई आवश्यक परेका सम्पूर्ण सेवाहरु आफ्नो एपबाट प्रदान गर्ने गरी ‘सुपर एप’ बन्ने योजनामा रहेको बस्न्यात बताउँछन् ।

केही समय अगाडि काठमाडौँ उपत्यकामा सुरु भएको (पठाओ पार्सल)लाई देशब्यापी बनाउने र डिजिटल बालेट पठाओ पे समेत सुरु गरिने यस अगाडि नै पठाओ नेपालले जानकारी गराइसकेको छ । लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यातको बिश्वास छ ।

हाल पठाओ बाङ्लादेशका चार सहरहरुमा र नेपालका विभिन्न ठाउँहरुमा आफ्नो सेवा विस्तार गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।