चार लघु बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० मा १ अर्ब ९५ करोड १३ लाख ९० हजार रुपैयाँ लगानी गरेका छन् । सञ्चालनमा आएका दुई लघु जीवन बीमा र दुई लघु निर्जीवन बीमा कम्पनीले सो बराबरको लगानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार दुई लघु जीवन बीमाले १ अर्ब १ करोड ६३ लाख ९० हजार र दुई लघु निर्जीवन बीमा कम्पनीहरुले ९३ करोड ५० लाख रुपैयाँ लगानी गरेका हुन् ।
बीमा प्राधिकरणले लघु निर्जीवन बीमा व्यवसायतर्फ चार र लघु जीवन बीमा व्यवसायतर्फ तीन वटा कम्पनीको प्रस्ताव छनोट गरी इजाजत दिएकोमा गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स तथा नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आवमा व्यवसायिक कारोबार सुरू गरेका थिए ।
गत आर्थिक वर्ष २०७९–८० मा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ५० करोड ५० लाख रुपैयाँ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ५१ करोड १३ लाख ९० हजार रुपैयाँ गरी कुल १ अर्ब १ करोड ९० लाख रुपैयाँ लगानी गरेका हुन् । यसैगरी प्राधिकरणका अनुसार दुई लघु निर्जीवन बीमा कम्पनीले ९३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स दुबैले समान ४६ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।

लघु बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिएको छ । ‘लघु बीमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका २०७९’ को दफा ५ को चुक्ता पुँजी विभाजन शीर्षकमा लघुबीमा व्यवसाय गर्ने कम्पनीमा संस्थापक समूहको सेयर अंश न्यूनतम ५१ प्रतिशत हुनुपर्ने हुन्छ । यस्तै लघुबीमा कम्पनीले कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्नुपर्ने नियम छ । साथै कर्मचारीका लागि बढीमा ५ प्रतिशत छुट्ट्याउन सक्ने व्यवस्था छ ।
अधिकांश लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा
बीमा प्राधिकरणले एकै क्षेत्रमा लगानी हुँदा जोखिम बढ्नसक्ने आंकलन गर्दै विभिन्न क्षेत्रमा लगानी विविधिकरणका होस् भन्ने हेतुले बीमकको लगानी निर्देशन २०७९ अनुसार क्षेत्र र सीमा तोकेको छ । तर कुनैपनि लघु बीमा कम्पनीहरुले आफ्नो लगानी विविधिकरण गरेका छैन ।
लघु बीमा कम्पनीहरुको कुल १ अर्ब ९५ करोड १३ लाख ९० हजार रुपैयाँ लगानीमध्ये १ अर्ब ९० करोड ७५ लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकको मुद्दती निक्षेपमा रहेको छ । यो कुल लगानीको ९७.७५ प्रतिशत बराबर हो । यसरी हेर्दा सबै लघुबीमा कम्पनीहरुको लगानीको पहिलो रोजाई वाणिज्य बैंकको मुद्दती निक्षेपमा मात्र केन्द्रित छ । अन्य क्षेत्रमा ४ करोड ३८ लाख ९० हजार रुपैयाँ बराबरको लगानी रहेको छ ।
लघु बीमकको लगानी निर्देशन २०७९ अनुसार कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर धेरैजसो कम्पनीहरुले लगानी विविधिकरण गर्नुका सट्टा आफ्नो शतप्रतिशत बराबरको लगानी यस क्षेत्रमा गरेका हुन् ।
गार्डियन माइक्रो लाइफले गत आवमा ५० करोड ५० लाख लगानी गरेको छ । यस कम्पनीले शतप्रतिशत लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा राखेको छ । यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ५१ करोड १३ लाख ९० हजार लगानी गरेकोमा ५० करोड ५० लाख वाणिज्य बैंकको मुद्दती निक्षेपमा र ४ करोड ३८ लाख ९० हजार अन्य क्षेत्रमा लगानी गरेको छ ।
यसैगरी नेपाल माइक्रो इन्स्योरेन्सले गत आवमा ४६ करोड ७५ लाख र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पनि ४६ करोड ७५ लाख रुपैयाँ नै लगानी गरेका छन् । यी दुबै लघु निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको शतप्रतिशत लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा मात्र राखेका हुन् ।
बीमकको लगानी निर्देशन २०७९ अनुसार लघु बीमकहरुले नपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा न्यूनतम २५ प्रतिशत, नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको न्यूनतम ३० प्रतिशत, ‘ख’ वर्गको विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको बढीमा १० प्रतिशत, ‘ग’ वर्गको वित्त कम्पनीहरुको मुद्दती निक्षेपमा कुल लगानीको बढीमा ५ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा बढीमा ३० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा बढीमा २० प्रतिशत र नागरिक लगानी कोष र म्यचुअल फन्डमा बढीमा ५ प्रतिशत लगानी गर्नसक्ने व्यवस्था छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया