हरित, उत्थानशील र समावेशी विकासमा हुने लगानीलाई प्राथमिकता

0
Shares

नेपाल सरकार र विकास साझेदारहरूद्वारा हरित, उत्थानशील र समावेशी विकासमा हुने लगानीलाई प्राथमिकतामा राखेका छन् ।

नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न नेपाल सरकार र १६ वटा विकास साझेदारहरू सहमत भएका हुन् ।

विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ । कार्यक्रममा सरकार, विकास साझेदार, नागरिक समाज संगठन, निजी क्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त गरे ।

“नेपालमा हामीले आपतहरू सहन सक्ने, हाम्रो वातावरणको संरक्षण गर्ने र हाम्रा जनताको जीवनस्तर उकास्न सक्ने हरित, थप उत्थानशिल, र थप समावेशी अर्थतन्त्र निर्माण गर्ने दृष्टिकोणका रूपमा ग्रिडको अवधारणालाई मनन गरेका छौंँ”, अर्थमन्त्री डा. प्रकाश शरण महतले भने, “नेपालमा विकास र रोजगारी सृजनालाई गति दिन, जीविकोपार्जनलाई बलियो बनाउन र दिगो रूपमा नेपाली जनताको समृद्धिलाई बढावा दिन नयाँ ग्रिड रणनीतिक कार्य योजना एक नीतिगत माध्यम हुन सक्छ ।”

ग्रिड रणनीतिक कार्ययोजनाका लागि प्राप्त हुने बाह्य लगानी अन्तर्गत अनुदान र अन्य सहूलियतपूर्ण वित्तीय लगानीहरू जस्तै सहूलियतपूर्ण ऋण, र कार्बन वित्त जस्ता नवीनम वित्तीय लगानी रहेका छन् ।

बाह्य वित्तीय लगानी नेपालको सार्वजनिक बजेटको पूरकका रूपमा रहनेछ र यसले विदेशी र स्वदेशी निजी क्षेत्रको लगानीलाई समेत लाभान्वित गराउने लक्ष्य लिएको छ ।

ग्रिड रणनीतिक कार्ययोजनाले १० वटा प्राथमिकता प्राप्त कार्यहरू पहिचान गरेको छ । यसमा थप उत्थानशील पूर्वाधार, परिस्थितिकी प्रणाली, र खाद्य प्रणालीका लागि भूमि, जल र वनलाई अझ बढी उत्पानदशील, दिगो र एकीकृत रूपमा व्यवस्थापन गर्नेः मानिसहरूलाई नयाँ सीप र उत्थानशील जीविकोपार्जनबाट सुसज्जित गर्नेः सहरी विकासलाई हरित बनाउनेः खानेपानी र सरसफाई विस्तार गर्नेः वायु प्रदूषण न्यूनीकरण र फोहोरमैला व्यवस्थापन गर्नेस नवीकरणीय ऊर्जालाई बढावा दिनेः यातायातको दिगोपना र उत्थानशीलता अभिवृद्धि गर्नेः विपद् जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेः र आघातप्रति थप उत्तरदायी बनाउन सामाजिक सुरक्षा एवं स्वास्थ्य प्रणाली अभिवृद्धि गर्ने विषयहरू समावेश छन् ।

“नेपाललाई थप दिगो, उत्थानशील र समावेशी अर्थतन्त्रतर्फ रणनीतिक कदम चाल्न सहयोग गर्न पाएकोमा विश्व बैंक गर्व गर्दछ ।” विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक अन्ना जेर्डले भनिन्, “नेपालको ग्रिडसम्बन्धी अवधारणाले विकास र वृद्धिलाई केन्द्रमा राखेको छ । त्यो वृद्धिले चरम गरीबी घटाउँछ, संरचनात्मक असमानता कम गर्छ, वातावरण संरक्षण गर्छ, र विकास प्रक्रियालाई दिगो र उत्थानशील बनाउँछ । यसले बस्नयोग्य पृथ्वीमा गरिबीमुक्त समाज स्थापना गर्ने विश्व बैंकको नयाँ लक्ष्य र दूरदृष्टि हासिल गर्न मुख्य अवयवहरू प्रदान गर्दछ ।”

ग्रिड रणनीतिक कार्ययोजनाका लगानी प्राथमिकताहरूले नेपालको विकास सफलताका कथाहरूलाई आधार बनाउने, सम्बन्धित क्षेत्रमा काम कारबाहीलाई तीव्रता दिने, निजी क्षेत्रको लगानी परिचालन गर्न मद्दत गर्ने र एकै समयमा उत्थानशीलता र समावेशीकरण सहितको दिगोपना प्रदान गर्ने लक्ष्य लिएका छन् । यसले अझ धेरै मानिसहरूका लागि थप रोजगारी सिर्जना गर्नः मानिस र उनीहरूका जीविकोपार्जनको उत्थानशीलता निर्माण गर्नः वातावरण, जलवायु, जल, र खाद्य सुरक्षा अभिवृद्धि गर्नः र थप समावेशी र दिगो अर्थतन्त्रका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ ।

नेपालको विकास साझेदारहरूमा एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ, नेपालस्थित अष्ट्रेलियाली राजदूतावास, बेलायती राजदूतावास, नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डल, फिनिस राजदूतावास, फ्रान्सेली राजदूतावास, स्विस राजदूतावास, कोरियाली राजदूतावास, जर्मन राजदूतावास, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), शाही नर्वेजियन राजदूतावास, अमेरिकी राजदूतावास, संयुक्त राष्ट्रसंघ नेपाल र विश्व बैंक छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।