कैलालीस्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्री आयात ठप्प भएपछि राजस्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
यो आर्थिक वर्षमा राजस्व असुली लक्ष्यमा पुग्न सक्ने सम्भावना कम रहेको कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले जानकारी दिएका छन् । कार्यालयले चालु आवमा ११ अर्ब ५८ करोड २५ लाख ७० हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएकामा असोज मसान्तसम्ममा एक अर्ब ६१ करोड ९० लाख २५ हजार रुपैयाँ मात्रै असुली भएको उनले बताए ।
हमालका अनुसार आव २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएकामा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैयाँ, आव २०७८/७९ मा ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार रुपैयाँ लक्ष्य लिएकामा नौ अर्ब ५८ करोड २६ लाख ५० हजार रुपैयाँ असुली गरेको थियो ।
गत आवमा १२ अर्ब ३० करोड रुपैयाँको राजस्व असुली गर्ने लक्ष्य लिइएकामा आठ अर्ब २९ करोड रुपैयाँ मात्रै असुली भएको भन्सार अधिकृत हमालले जानकारी दिए । साउन अन्तिम सातादेखि क्वारेन्टाइन बन्द भएपछि कैलालीमा अघिल्लो आवको तुलनामा यो वर्ष भन्सार राजस्व असुलीमा कमी आउने उनले बताए ।
भन्सार प्रमुख हमालले फलफूल, तरकारी, खाद्यान्न, दलहनलगायतका वस्तु क्वारेन्टाइन नहुँदा आयात ठप्प भएको बताउँदै क्वारेन्टाइन स्थापनाका लागि विभागमा पत्राचार गरिएको बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया