अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले नेपालमा वैदेशिक लगानी भित्र्याउने उदेश्यका साथ आगामी फागुन–चैतमा लगानी सम्मेलन गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले निजी क्षेत्र र गैरआवासीय नेपाली संघसँग समन्वयगरी विदेशी लगानी ल्याउने गरी सम्मेलन गर्ने उनले बताए ।
विश्व बैंकको कार्यक्रममा सहभागि भएर भर्खरै नेपाल फर्किका अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विषयमा चासो बढ्दो गइरहेको बताउँदै विश्व बैंक, एडीबीसहित बेलायत लगायत देशका निजी क्षेत्र नेपालप्रति सकारात्मक रहेको बताए । नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको बताउँदै अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि लयमै फर्कंदै गरेको उल्लेख गरे ।
अर्थमन्त्री महतका अनुसार प्राकृतिक प्रकोप, महामारी लगायतका समस्या बेलाबेलामा आएपनि तिनलाई सम्बोधन गर्दै आर्थिक वृद्धिदर बढाउनुपर्नेमा जोड दिए । उनले नेपालको अर्थतन्त्रमा समस्या एकाएक आएको नभएर वर्षौंदेखि समस्या थपिँदै जाँदा थप समस्या भएको दाबी गरे । उनले भने, ‘पर्यटक आगमन र रेमिट्यान्स बढेको छ । घरजग्गामा एकैपटक धेरै लगानी हुँदा अर्थतन्त्रमा समस्या आएको थियो,’ उनले भने, ‘त्यसपछि लगातार घरजग्गाको मूल्य बढ्ने नहुँदा समस्या भयो । अहिले समाधान भैसकेको छ ।’

महतले बैंकहरुको ब्याजदर घट्दै गएको पनि बताए । ‘बैंकहरुको ब्याजदर क्रमश घट्दै गएको छ,’ उनले भने । अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा आत्मविश्वास आवश्यक भएकाले यसको वातावरण बनाउनुपर्ने महतको भनाइ छ । अर्थमन्त्री महतले विश्व बैंक र एसियाली विकास बैंकको आर्थिक प्रक्षेपणले पनि नेपालले ४ प्रतिशत बढी आर्थिक वृद्धि हाँसिल हुने देखाएको बताए ।
महतका अनुसार नेपालका मुख्य ४ वटा क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छन् । ‘२–३ मेगावाटबाट सुरु भएको जलविद्युत् क्षेत्रमा अहिले निजी क्षेत्र एक्लैले २–३ सय मेगावाटसम्म बनाउन सक्ने बनिसकेको छ,’ उनले भने । अर्थमन्त्री महतका अनुसार जलविद्युत्मा एक प्रकारको इकोसिस्टम बनिसकेको छ र १.७ अर्ब रुपैयाँ लागत भएको अपर अरुण जलविद्युत आयोजना अघि बनाउन विश्व बैंकले तत्परता देखाएको छ ।
‘सूचना प्रविधिको क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ,’ उनले भने, ‘आईटी क्षेत्रलाई प्रवद्धर्न गर्न अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा सेन्टर खोलोस् भन्ने सरकारको चाहना छ ।’ नेपालको लगानी र आर्थिक विकासको लागि पर्यटन क्षेत्र अर्को विकल्प रहेको महतको भनाइ छ ।
नाफिजको १५ औं वार्षिकोत्सवको अवसरमा तीन जना आर्थिक पत्रकार पुरस्कृत भएका छन् भने नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन भएको छ । राजधानीको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा समसामयिक आर्थिक विषयमा छलफलसमेत आयोजना गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा ‘प्लानिङ २.०’ थिममा प्रकाशित वार्षिक जर्नल विमोचन भएको हो । जर्नलको बिमोचन अर्थमन्त्री डा. प्रकाश शरण महत, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका छाता संगठन नेतृत्वले संयुक्त रुपमा गरे । जर्नलमा ३० भन्दा बढी अनुसन्धान र विश्लेषणात्मक लेख समावेश गरिएको छ । नाफिज जर्नलको यो तेस्रो संस्करण हो ।
योजना निर्माण कसरी गर्ने भन्ने सुझाव समेत समेटिएको जर्नलले नेपालको योजनामा पुनरावलोकन र क्रान्तिकारी परिवर्तन आवश्यक रहेको औंल्याएको नाफिज अध्यक्ष मोदनाथ ढकालले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया