अर्ना बियर उत्पादक यती ब्रुअरीको बिक्री घट्दा आम्दानीमा गिरावट

0
Shares

पछिल्लो समय चर्चामा रहेको अर्ना बियर उत्पादक कम्पनी–यती ब्रुअरीको बिक्रीमा कमी आउँदा कम्पनीको सञ्चालन आम्दानीमा समेत गिरावट आएको छ । आर्थिक वर्ष २०७९/८० मा यती ब्रुअरीको सेल्स १६ प्रतिशतले घट्दा कम्पनीको सञ्चालन आम्दानी २६ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ३७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी गत आव (२०७९/८०) मा २ अर्ब ५८ करोड ३० लाख रुपैयाँमा झरेको छ । यती ब्रुअरीले अर्ना सहित यती, शिखर, वाइबी, किङफिसर, सेभेन सीन्स गरी ६ वटा ब्रान्डका बियरहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

नेपाल सरकारले मदिराजन्य पदार्थको उत्पादनमा अन्तशुल्क १० प्रतिशतले बढाउनु र विज्ञापनमा समेत कडाइ गर्नुले पनि कम्पनीको आम्दानी गिरावटमा भूमिका खेलेको छ । सन् २०२३ मा स्थापना भएको कम्पनीको प्लान्ट चितवनमा रहेको छ । कम्पनीमा नेपालका दुई व्यापारिक घराना–विशाल ग्रुप र एभरेष्ट ग्रुपको लगानी छ । देशभर कम्पनीका २१४ डिस्ट्रीब्युटर कम्पनीहरु छन् । यसरी सहरदेखि गाउँसम्म यती ब्रुअरीका उत्पादनको सञ्जाल विस्तार भएको छ ।

कम्पनीमा सन्जीब सराफको ३२.८४ प्रतिशत, जयजीव सराफको ११.६६ प्रतिशत र बिशाल अग्रवालको ६.९२ प्रतिशत सेयर हिस्सा रहेको छ। कम्पनीका अध्यक्ष विशाल अग्रवाल हुन् भने सन्जीब सराफ कम्पनीका प्रबन्ध निर्देशक हुन् ।

कम्पनी सन् २०२२ मा यती ब्रुअरी प्रालिबाट यती ब्रुअरी लिमिटेडमा परिणत भएको छ । वार्षिक रुपमा १ करोड ३० लाख लिटर बियर उत्पादन क्षमता रहेको कम्पनी आइएसओ २२०००ः२०१८ र आइएसओ क्युएआर सर्टिफाइड कम्पनी हो ।

कम्पनीले २ अर्ब ९७ करोड ३२ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १ अर्ब ५२ करोड ३२ लाख बराबरको दीर्घकालीन कर्जाका लागि कम्पनीलाई ट्रिपल बी र १ अर्ब ४५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ प्लस रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.२६ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।