गुठी जग्गा किर्ते गरी डेढ करोड भ्रष्टाचार, ६ विरुद्ध आरोपपत्र दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे समेत ६ जना उपर आरोपपत्र दायर गरेको छ ।

अख्तियारले पाण्डेसहित गुठी संस्थान जनकपुरका सहायक प्रशासक मनोजकुमार आचार्य, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, विचौलिया सुमनकान्त ठाकुर, नक्कली मोही गायत्रीदेवी जयसवाल र उनका छोरा सत्रुधन जयसवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी अनियमिता र भ्रष्टाचार गरेको आरोपमा सो मुद्धा दायर गरिएको हो।

धनुषा जिल्लाको भरतपुर गा.वि.स.मा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेले उन्नाइस लाख तीस हजार मोहीहरुलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलिया मार्फत घुस र रिसवत लिएको अख्तियारको आरोप छ । पाण्डेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १९ लाख ३० हजा बिगो कायम गरी असुल गर्न माग दाबी गरेको छ ।

त्यस्तै गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले छ लाख पचास हजार, तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले चार लाख तीस हजार, बिचौलिया सुमनकान्त ठाकुरल त्रिसठ्ठी लाख छत्तीस हजार छ सय सतसठ्ठी, मोही गायत्री देवी जयसवालका छोरा शत्रुधन जयसवालले बाह्र लाख एकासी हजार छ सय सतसठ्ठी, मोही गायत्री देवी जयसवालले सतहत्तर लाख एक हजार छ सय सतसठ्ठी रुपैयाँ अनियमितता गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।