वित्तीय प्रणालीको निक्षेप ५९ खर्ब पुग्यो, बढ्न थाल्यो कर्जाको माग

0
Shares

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५९ खर्ब पुगेको छ । चाडवाडका लागि रेमिट्यान्स आउने क्रम बढेपछि बैंकिङ प्रणालीको निक्षेप हालसम्मकै उच्च भएको हो।

नेपालीको महान चाड बडादशैं, दिपावली संगै छठ पर्वका कारण विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्समा सुधार आएसंगै निक्षेपमा सुधार आएको हो।

त्यसका साथै पछिल्लो समयमा ठप्प रहेको कर्जाको मागमा समेत सुधार आएपछि निक्षेप पनि बढ्न मद्दत गरेको बैंकहरुको भनाई छ । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न थालेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । उनले कर्जाको माग बढेसँगै अर्थतन्त्रले पनि गति लिन सक्ने बताउँदै ब्याजदर थप नबढ्ने बताए। “कर्जाको मागमा देखिएको सामान्य सुधार तथा बढेको निक्षेपका कारण ब्याजदर घट्ने देखिन्छ,” उनले भने ।

दशैंपछि बैंकिङ प्रणालीमा करिब २२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने ७ अर्ब रुपैयाँ कर्जा विस्तार भएको केन्द्रीय बैंकले जनाएको छ । गत असारपछि कात्तिक २० गते सोमबारसम्ममा बैंकिङ प्रणालीमा एक खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि ९८ अर्ब रुपैयाँले बढेको छ । गत असार ३० गते वित्तीय प्रणालीको कुल निक्षेप ५७ खर्ब ६७ रहेको थियो । सो दिन बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकहरुले निक्षेप तान्नका लागि ब्याजदर बढाउने, रेमिट्यान्स बढ्ने तथा कर्जाको मागमा सामान्य सुधार र सरकारी पैसालाई निक्षेपमा गणना गर्न पाउने तथा कर्जा लगानी विस्तार हुन नसकेपछि वित्तीय प्रणालीमा निक्षेप थुप्रिने क्रम बढेको हो । साथै दशैंका लागि बैंकिङ प्रणालीबाट बाहिरीएको पैसा फिर्ता भएपछि पनि निक्षेप बढ्नमा थप सहयोग पुगेको हो ।

बैंकहरुमा निक्षेप अधिक भएपछि कर्जा योजना समेत ल्याउन थालेका छन् । बैंकहरुले कर्जा योजनाहरु ल्याएको भएपनि अर्थतन्त्रले गति लिन नसक्दा कर्जाको मागमा अपेक्षा अनुसार सुधार हुन सकेको छैन । अर्थतन्त्रले गति लिन नसक्दा वित्तीय क्षेत्रको जोखिम समेत बढ्दै गएपछि बैंकहरु हतासमा देखिन थालेका छन् । बाह्य अर्थतन्त्रमा सुधार आएको भएपनि आन्तरिक अर्थतन्त्रले गति लिन नसकेपछि सरकारको नीतिगत सम्बोधनको पर्खाइमा बैंकहरु देखिन्छन ।

केन्द्रीय बैंकका अनुसार कात्तिक २० गते सोमबारसम्ममा बैंक वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब पुगेको छ । सो अवधिको कुल कर्जा ४९ खर्ब ७७ अर्ब पुगेको छ । सोमबारसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप ५२ खर्ब १४ अर्ब रुपैयाँ छ । त्यसैगरी विकास बैंक र फाइनान्स कम्पनीमा ६ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी सोमबारसम्ममा वाणिज्य बैंकहरुको मात्र कुल कर्जा लगानी ४४ खर्ब ५ अर्ब रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीको ५ खर्ब ७२ अर्ब रहेको छ।

सोमबारको तथ्याङक अनुसार बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ८१.५३ प्रतिशत रहेको छ । सो दिनको अन्तर बैंक दर पनि घटेर ३.२२ प्रतिशतमा झरेको थियो । दशै अघि अन्तर बैंक दर साढे ४ प्रतिशत भन्दा माथि सम्म पुगेको थियो । बैंकहरुमा निक्षेप बढेसंगै ट्रेजरी बिल्सको डिस्काउन्ट रेटमा समेत सामान्य गिरावट आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।