सुडान घोटालाका ठेकेदार शम्भु भारती धरौटीमा छुटे

0
Shares

सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन्। सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि भारती कारागारमुक्त भएका हुन्।

राष्ट्रसङ्घीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर भएपछि गत भदौ १२ गते पक्राउ परेर भारतीलाई डिल्लीबजार कारागारमा राखिएको थियो।

न्यायाधीश तेजबहादुर केसी, प्रकाश ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले गत मङ्सिर २८ गते पुनरावलोकनमा निस्सा हुने आदेश जारी गरेको थियो। सोही आदेशको कार्यान्वयनका क्रममा आइतबार भारती धरौटीमा छुटेका हुन्। अदालतले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा दिएपछि भारती कारागार मुक्त भएका हुन्।

कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउन माग गर्दै भारतीले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन निवेदनको सुनुवाइपछि पुनः सो मुद्दामा सुनुवाइ गर्न आदेश भएको थियो। 

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले भारतीलाई उक्त काण्डमा दोषी ठहर गरी १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाएको थियो। भारतीले सो रकम बुझाएका छन्। भारती डडेल्धुराको भागेश्वर गाउँपालिका– ४ रुपालका स्थायी बासिन्दा हुन्।

सर्वोच्च अदालतले सोही प्रकरणमा नेपाल प्रहरीका तीन जना पूर्व प्रहरी महानिरीक्षकलाई पनि दोषी ठहर गरेको थियो। पूर्व महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो। राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना तथा ठकुरीलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।