भिजन लुम्बिनी उर्जाको आइपीओमा ८०% बढी आवेदकको हात खाली हुने

0
Shares

भिजन लुम्बिनी उर्जा कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा उच्च आवेदन परेका कारण ८० प्रतिशतभन्दा बढी आवेदकले सेयर हात नपार्ने भएका छन् ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ११ लाख ९५ हजार ९५७ जना आवेदकबाट १ करोड ३५ लाख ८७ हजार ७९० कित्ता खरिदको माग परेको छ । यो सर्वसाधारणबाट माग भउको सेयर संख्याको ६.५४ गुणा बढी आवेदन परेको हो ।

उच्च सेयर आवेदन परेका कारण कम्पनीको सेयर गोलाप्रथाबाट बाँडफाँड हुनेछ । आईपीओमा २ लाख ७ हजार ५२८ जनाले मात्र सेयर हात पार्नेछन् । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने कम्पनीको आईपीओ बाँडफामा २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र पाँच जनाले ११ कित्ताका दरले सेयर हात पार्नेछन् ।

कम्पनीले कार्तिक १६ देखि २० गतेसम्म २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।

नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको २० प्रतिशत (३८ लाख २५ हजार कित्ता) सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १९ लाख १२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सर्वसाधारणका लागि छुट्याएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता सेयर बिक्री गरेको थियो। यस्तै सामूहिक लगानी कोषका लागि ९५ हजार ६२५ कित्ता र कर्मचारीहरुका लागि ३८ हजार २५० कित्ता सेयर छुट्एर बाँकी रहेको सेयर सर्वसाधारणमा जारी गरेको थियो ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण गरेको छ । कम्पनीले यहि मंसिरदेखि उत्पादन सुरुको पनि तयारी गरेको छ । यस योजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ । चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् १ अर्ब ९१ रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ८०% र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा र सर्वसाधारण सेयरधनी समूहको हिस्सा २०% रहनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८२–८३ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म २९ करोड २८ लाख ११ हजार रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । त्यस्तै, २०८१–८२ मा ३३ करोड ८७ लाख ३३ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।