भूकम्प पीडितका लागि एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाखको चेक हस्तान्तरण


एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरुलाई ४० लाख ब्यालेन्स बराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको जनाएको छ ।

एनसेलले बिहीबार आफ्नो प्रतिबद्धता अनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको हो । चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री कृष्ण बहादुर बिसीलाई हस्तान्तरण गरेका थिए ।

‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत, पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठुलो अर्थ राख्दछ’ मन्त्री बिसीले भने ।

कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरुमा आफ्नो तर्फबाट एनसेलले कसरी सहयोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग छलफल जारी राखेको जनाइएको छ ।

‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी कामगर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं,’ एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले भने ।

यस सहयोगसँगै भुकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै १ करोड पुगेको छ । विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति एनसेल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुको साथ रहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।