यूनिलिभरको पहिलो त्रैमासमा खुद नाफा ५५ करोड बढी, EPS ९२० रुपैयाँ बढ्याे

0
Shares

सौन्दर्यमुलक सामग्रीहरुको उत्पादक युनिलिभर नेपाल लिमिटेडको आम्दानीमा उत्साहप्रद सुधार आएको छ । कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा ६२.२१ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ३४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले खर्च नियन्त्रण गरेपछि उल्लेख्य नाफा वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले बिक्री आय ३.७५ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २४ करोड ११ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल खर्च १०.०३ प्रतिशत घटेको छ । कम्पनीको एकातिर बिक्री आम्दानी बढेको छ भने अर्कोतिर कम्पनी खर्च नियन्त्रण गर्न सफल भएको छ । यसले कम्पनीको खुद नाफा वृद्धिमा टेवा पुगेको हो ।

पहिलो त्रैमासमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३९९ रुपैयाँ ५७ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी ९२० रुपैयाँ ३० पैसा बढेको हो । असोज मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ ५ हजार ३३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.२ गुणा छ ।

नेपाली सेयर बजारमा सबैभन्दा महङ्गो सेयरमूल्य रहेको युनिलिभर नेपाल लिमिटेडले हालसम्मकै धेरै लाभांश वितरणको प्रस्ताव गरेको छ । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हालसम्मकै उच्च दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले प्रस्ताव गरेको यो लाभांश हालसम्मकै सर्वाधिक हो । कम्पनीले सञ्चालनको ३० वर्ष पुगेको खुशियालीमा कम्पनीले सर्वाधिक लाभांश वितरण गर्ने घोषणा गरेको जनाएको छ ।

कम्पनीले लक्स, लाइफब्वाय, रिन, ह्वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेण्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ । लन्डनमा मुख्यालय रहेको कम्पनी युनिलिभरले नेपालमा युनिलिभर इन्डियामार्फत ८० प्रतिशत सेयर लगानी गरेको छ । युनिलिभरले लगानीकर्तालाई आकर्षक लाभांश पनि दिँदै आइरहेको छ । कम्पनीमा हिन्दस्थान युनिलिभर मुम्बईको ७ लाख ३६ हजार ५६० कित्ता, सिवक्रिम होल्डिङ्ग प्राली नेपालको ४६ हजार ३५ कित्ता र सर्वसाधारणमा १ लाख ३८ हजार १०५ कित्ता सेयर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।