किन बढ्यो ट्रेजरी बिल्सको डिस्काउन्ट रेट ?


बैंक तथा वित्तीय संस्थाको निक्षेपमा उल्लेख्य सुधार आएको भएपनि अल्पकालिन ब्याजदर झनै बढेको छ । वित्तीय प्रणालीको निक्षेप हालसम्मकै उच्च ५९ खर्ब १८ अर्ब पुगेको अवस्थामा पनि ट्रेजरी बिल्सको डिस्काउन्ट रेट एक प्रतिशत विन्दुसम्मले बढेको हो ।

बैंक तथा वित्तीय संस्थामा दशैका लागि झिकिएको निक्षेप समेत फिर्ता भएको छ । त्यसैगरी रेमिट्यान्स आप्रवाहमा पनि उच्च सुधार आएपछि निक्षेप बढेको अवस्था छ । तर, बैंकहरुको निक्षेप बढेको भएपनि कर्जा लगानी भने आशा गरे अनुसार बढाउन सकेका छैनन् ।

बैंकहरुले कर्जा लगानी बढ्न नसकेको अवस्थामा पनि ब्याजदर घट्न सकेको छैन । केन्द्रीय बैंकले मूल्य वृद्धि नियन्त्रणका लागि ब्याजदर बढाएको अनुपातमा नघटाउँदा पनि बैंकहरुले दर नघटाएका हुन । बैंकहरुको ब्याजदर सामान्य घटेको भएपनि कर्जा विस्तार गर्ने गरी घट्न सकेको छैन ।

अर्थतन्त्रमा देखिएको सुस्तता, उद्योगी व्यापारीमा छाएको निरासापन, पुरानै कर्जाको बोझ लगायत कारणले गर्दा बैंकहरुमा नयाँ कर्जाको माग आउन नसकेको बैंकरहरु बताउँछन । अर्थतन्त्रमा देखिएको समस्याका कारण बैंकमा कर्जाको माग नबढ्नु र उल्लेख्य निक्षेप थपिँदा पनि अल्कालिन ब्याजदर घट्न सकेको छैन । बैंक वित्तीय संस्थाले कर्जाको माग नभएको र निक्षेप बढेको अवस्थामा सरकारी ऋणपत्रबाट आम्दानी गर्न खोज्दा डिस्काउन्ट रेट बढेको हो । त्यसैगरी बैंकहरुमा अधिक निक्षेप भएपनि प्रतिस्पर्धा पनि उच्च भएकाले डिसकाउन्ट रेट बढ्न गएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रको पछिल्लो निक्षेप ५९ खर्ब १८ अर्ब रहेको छ भने कर्जा लगानी ४९ खर्ब ७९ अर्ब रहेको छ । त्यसैगरी वित्तीय प्रणालीको औसत कर्जा निक्षेप अनुपात ८१.३१ प्रतिशत रहेको छ भने अन्तर बैंक दर २.९८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय प्रणाली सहज अवस्थामा भएपनि शुक्रबार जारी भएको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट बढेको छ । शुक्रबार केन्द्रीय बैंकले १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बरावरको पुरानो ट्रेजरी बिल्सको नबीकरण गरेको छ । केन्द्रीय बैंकले ८ अर्ब रुपैयाँ बराबरको २१ दिने र ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बरावरको ट्रेजरी नबीकरण गरेको हो ।

शुक्रबार २८ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ४.११२७ प्रतिशत पुगेको छ । यसभन्दा अघि कात्तिक १४ गते निष्कासन भएको सोही अवधिको ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ३.२७२५ प्रतिशत थियो । त्यसैगरी शुक्रबार ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ५.०५७७ प्रतिशत रहेको छ । यसभन्दा अघि गत २१ गते निष्कासन भएको ९१ दिने ट्रेजरीको डिस्काउन्ट रेट ४.३४५५ प्रतिशत थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।