सुनको मूल्य दिनदिनै बढेर नयाँ नयाँ रेकर्ड कायम गर्न थालेसँगै खपत ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ।
नेपालको स्थानीय बजारमा सुनको दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएकोमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिए।
लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने बढेका छन्। राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ। सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन्।
पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो। “अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनावका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको हो”, महासङ्घका अध्यक्ष विश्वकर्माले भने, “महाशक्ति राष्ट्रबीचको बढ्दो तनावका कारण विश्वभरबाटै सुनमा लगानी हुन थालेको छ, व्यापार द्वन्द्वले सुनप्रति आकर्षण बढ्यो।”
साना तथा ठूला लगानीकर्ताले सुनमा गरिएको लगानीलाई सुरक्षित मान्न थालेको उनको भनाइ छ । चीन र अमेरिकाबीच हुने भनिएको वाणिज्य वार्ता निष्कर्षमा पुग्न नसक्दा पनि सुनको मूल्य वृद्धिमा सघाउ पुगेको अध्यक्ष विश्वकर्माले बताए।
इकोनोमिक्स टाइम्सले पनि पछिल्लो सात वर्षमा सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि भएको जनाएको छ । मध्यपूर्वी क्षेत्रमा देखिएको तनावका कारण सुरक्षित लगानी ठानिएको सुनमा अत्यधिक आकर्षण बढेको छ । सोमबार विश्वबजारमा सुनको मूल्य प्रतिआउन्स एक हजार ५७३ दशमलव ५० अमेरिकी डलरमा कारोबार भएको छ।
नेपाली बजारमा पनि आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ निर्धारण गरेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० रुपैयाँ कायम गरेको छ । यस्तै चाँदीमा पनि मूल्यवृद्धि भएको छ । आइतबार प्रतितोला ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २० ले वृद्धि भएको छ ।
साताको पहिलो दिन आइतबार प्रतितोला एक हजारले वृद्धिभई छापावाला सुन ७५ हजार ५०० मा खरिद बिक्री भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ७५ हजार २०० रुपैयाँम कारोबार भएको थियो ।
पुस महिनामा मात्रै स्थानीय बजारमा प्रतितोला चार हजार ५०० रुपैयाँले मूल्य वृद्धि भएको छ । यही पुस १ गते छापावाला सुन प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । पुस १ गते प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको चाँदी आजको दिनमा आइपुग्दा ७० रुपैयाँले वृद्धि भएको छ ।







