धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

0
Shares

सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई आगामी चार बर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले नोटबजारलाई जानकारी दिए ।

ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुन्। राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ढुंगानाले राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेका थिए ।

ढुंगानासँग नेपाल स्टक एक्सचेन्जमा ३ बर्ष संचालकको रुपमा काम गरको अनुभव समेत रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका ढुंगानाले युके बाट फाइनान्समा एमबिए गरेका छन् ।

अध्यक्ष बनाउने सोचका साथ अर्थमन्त्री युवराज खतिवडाले उनलाई विज्ञ सदस्यको रुपमा बोर्डमा नियुक्त गरेका थिए ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले बोर्ड अध्यक्षका लागि भिष्मराज ढुंगाना, निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । उनीहरु मध्येबाट ढुंगानालाई अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।