गोल्छा ग्रुपको जीओ अटोमोबाइल्सको आम्दानी ५० प्रतिशतले घट्यो

0
Shares

व्यापारिक घराना गोल्छा ग्रुपको लगानी रहेको र विश्व प्रख्यात अटोमोबाइल ब्रान्ड फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सको सञ्चालन आम्दानीमा भारी गिरावट आएको छ ।

भारतमा सञ्चालन हुँदै आएको फोर्डको उत्पादन प्लान्ट सन् २०२१ मा बन्द भएसँगै गोल्छा ग्रुपको लगानी रहेको जीओ अटोमोबाइल्सको आम्दानीमा गिरावट आएको हो ।

सन् २०२२ मा १ अर्ब ६५ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२३ मा ८३ करोडमा खुम्चिएको छ । कम्पनीको आम्दानीमा आएको भारी गिरावटको प्रभाव कम्पनीका अन्य वित्तीय सूचांकहरुमा समेत देखिएको छ ।

ह्रासकट्टी, परिशोधन, भाडा, ब्याज र कर सहितको कम्पनीको नाफा ऋणात्मक हुन पुगेको छ । सन् २०२२ मा कम्पनीको सो नाफा कुल सञ्चालन आम्दानीको ३.९ प्रतिशत थियो भने सन् २०२३ मा सो नाफा ऋणात्मक विन्दुमा पुगेको छ ।

सन् २००७ मा स्थापना भएको कम्पनीले स्थापनाको समयदेखि नै फोर्डको आधिकारिक बिक्रेताका रुपमा फोर्डका विभिन्न मोडलका सवारी साधन र स्पेअर पार्टस्को बिक्री वितरण गर्दै आएको छ । कम्पनीका प्रमोटर आकाश गोल्छा रहेका छन् भने उनको लगानी कम्पनीमा सर्वाधिक रहेको छ । शेखर गोल्छा र लोकमन्य गोल्छाको समेत कम्पनीमा लगानी रहेको छ । कम्पनीको प्रबन्ध निर्देशकको भूमिकामा समेत आकाश गोल्छाले निर्वाह गर्दै आएका छन् ।

कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले १४ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी रेटिङ गरेको छ भने कम्पनीको पछिल्लो वित्तीय अवस्था समीक्षा गरी ९२ करोड बराबरको अल्पकालीन कर्जाका लागि यसअघि गरेको ए४ रेटिङ घटुवा गर्दै ए३ प्लस रेटिङ गरेको छ । हाल कम्पनीले लिएको कर्जाको बयाज भुक्तानी गर्न सक्ने क्षमता समेत ऋणात्मक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।