सम्भावित लगानीकर्तालाई आकर्षण गर्न छुट तथा सहुलियत दिने सरकारको तयारी

0
Shares

सरकारले स्वदेशी तथा विदेशी लगानी विस्तारका लागि आवश्यक छुट र सुहलियत दिने तयारी गरेको छ । आगामी बैशाखमा हुने लगानी सम्मेलन मार्फत सरकारले स्वदेशी, विदेशी र गैरआवासीय लगानीकर्तालाई आकर्षित गर्न छुट तथा सहुलियतको व्यवस्था गर्न लागेको हो ।

सरकारले चालु आर्थिक बर्षको बजेटको व्यवस्था अनुसार २०८१ बैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनका लागि सरकारले निर्देशक समिति, कार्यान्वयन समिति र प्रविधि समिति समेत गठन गरिसकेको अवस्था छ । आइतबार निर्देशक समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैंठकले सम्मेलनका सम्भावित स्वदेशी विदेशी तथा गैर आवासिय लगानीकर्तालाई छुट, सहुलियत दिँदै लगानी बढाउन प्रेरित गर्नुपर्ने समितिका संयोजक अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए ।

तेस्रो लगानी सम्मेलन सफल पार्नका लागि चुस्त दुरुस्त रुपमा काम गर्नु पर्ने औंल्याउदै मन्त्री महतले भने, “सम्मेलनको पूर्व तयारी गर्नका लागि उप–समिति र कार्यगत समुह बनाई काम गर्नुपर्छ ।” सम्भावित लगानीकर्ताले सरकारले अफर गर्नुपर्ने कुराहरुको समेत पूर्ण तयारी गर्नुपर्ने उनले सुझाए ।

लगानीकर्तालाई आकर्षण गर्नका लागि कन्ट्री रेटिङ, हेजिङ्गको व्यवस्था तथा ऐन नियममा आवश्यक संशोधन गर्ने सन्दर्भमा काम गर्नुपर्ने उनले बताए । “अब लगानीकर्तालाई कडाइ गरेर भन्दा पनि प्रयाप्त सहजीकरण गरी लगानी ल्याउने तथा बढाउने काम गर्नुपर्ने छ,” मन्त्री महतले भने । तेस्रो सम्मेलन मार्फत विप्पा कार्यन्वयनको कुरा पनि अघि बढाउने उनले बताए ।

लगानी सम्मेलन भन्दा अघि नियमित रुपमा बैठक जारी राख्ने बताउँदै उनले धेरै लगानी आउने सम्भावना भएका देशहरुसँग व्यक्तिगत वा सामुहिक पहल समेत गर्नुपर्ने औंल्याए । त्यसका लागि लगानी गर्ने क्षेत्रहरुको पनि खाका तयार गरिने जानकारी मन्त्री महतले दिए । त्यसका साथै लगानी सम्मेलनको तयारीका लागि मात्र नभई सम्मेलनमा आएका लगानी प्रतिवद्धताको ‘फलो अप’ गर्ने गरी काम अघि बढाउने उनले बताए ।

उनका अनुसार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय तथा विदेशी लगानीको सीमाको विषयमा आवश्यक सहजीकरण गर्ने छ । त्यसैगरी लगानी बोर्डले ठुला आयोजनाहरुको र उद्योग विभागले साना साना लगानीकर्ताका लागि आवश्यक सहजीकरणका काम गर्ने मन्त्री महतको भनाई छ । साथै सम्मेलन साना लगानीकर्तालाइ तथा बण्ड मार्फत लगानी गर्नेलाई समेत सम्बोधन गर्ने गरी काम हुने उनको भनाइ छ । त्यसैगरी लगानी भित्राउने सन्दर्भमा विदेशमा रहेका राजदुतावासलाई परिचालन गर्ने तथा प्रदेश स्तरीय लगानी सम्मेलन पनि हुने उनले बताए ।

तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको पहिलो बैठकलाई समापन गर्दै मन्त्री महतले समिति, उपसमिति, तथा कार्यगत समुहको जिम्मेबारी तथा कार्यक्रममको खाताको सन्दर्भमा आगामी बैठकबाट टुङगो लाग्ने जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।