जीवन बीमा कम्पनी सबैको व्यवसाय घट्दा कार्तिकमा साढे १५% घट्यो बीमाशुल्क

0
Shares

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क कार्तिक महीनामा १५.६२ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणद्वारा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो कार्तिकको तुलनामा १ अर्ब ६० करोड १६ हजार रुपैयाँ थोरै प्रिमियम संकलन भएको हो । समीक्षा अवधिमा प्रथम बीमाशुल्क ११ करोड ७६ लाख ५१ हजार रुपैयाँ (५.८२%) र नवीकरण बीमाशुल्क १ अर्ब ४८ करोड २३ लाख ६६ हजार रुपैयाँ (१८.०५%)ले घटेको प्राधिकरणको तथ्याङ्क छ ।

सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा ८ अर्ब ६३ करोड ४६ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कार्तिकमा कम्पनीहरुले प्रथम बीमाशुल्क वापत १ अर्ब ९० करोड ४० हजार ६४ हजार (२२.०५%) रुपैयाँ र नवीकरण बीमाशुल्क वापत ६ अर्ब ७३ करोड ६ लाख (७७.९५%) रुपैयाँ संकलन गरेको हुन् ।

कार्तिकमा जीवन बीमा कम्पनीहरुले ३ लाख २१ हजार ९०८ वटा बीमालेखबाट १ खर्ब ६ अर्ब ९८ करोड ४ लाख ९१ हजार रुपैयाँ बीमाङ्कको बीमालेख जारी गरेका छन् । यस अवधिसम्म जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमलेखको संख्या १ करोड ३७ लाख १४ हजार ५४७ वटा बीमालेख रहेको छ ।

विसं २०७९ कार्तिकमा कम्पनीहरुले १० अर्ब २३ करोड ४६ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । उक्त समयमा प्रथम बीमाशुल्क वापत २ अर्ब २ करोड १७ हजार १५ हजार रुपैयाँ (१९.७५%) र नवीकरण बीमाशुल्क वापत ८ अर्ब २१ करोड २९ लाख ६६ हजार रुपैयाँ (८०.२५%) संकलन भएको थियो ।

यस वर्षको कार्तिकमा नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमकमध्ये सर्वाधिक २ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको बीमाशुल्क अघिल्लो कार्तिकको तुलनामा १३.२० प्रतिशत अर्थात ३७ करोड ८२ लाख ८७ हजार रुपैयाँ कम हो ।

यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब १० करोड ९ लाख ३७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ९८ लाख ३५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क ०.८० प्रतिशत अर्थात ८८ लाख ९८ हजार रुपैयाँ कम हो ।

तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब ५ करोड ८१ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो बीमाशुल्क अघिल्लो कार्तिकको तुलनामा १५.२९ प्रतिशत अर्थात १९ करोड ९ लाख ५४ हजार रुपैयाँले घटेको हो । २०७९ कार्तिकमा कम्पनीले १ अर्ब २४ करोड ९० लाख ६८ हजार रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको थियो । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हिमालयन लाइफ इन्स्यारेन्स कम्पनीले ९८ करोड ५१ लाख ९० हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम अघिल्लो कार्तिकको तुलनामा १४.७३ प्रतिशत अर्थात १७ करोड १ लाख ८६ हजार रुपैयाँ कम हो ।

यसैगरी एशियन लाइफ इन्स्योरेन्सको बीमाशुल्क ४९ करोड ६१ लाख ४९ हजार रुपैयाँ छ । अघिल्लो कार्तिकमा कम्पनीले ५३ करोड ५५ लाख ३७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा ७.३५ प्रतिशतले घटेको हो । कार्तिकमा छैटौं धेरै प्रिमियम संकलन गरेको सुर्यज्योति लाइफ इन्स्योरेन्सले ४५ करोड ७५ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । यो अघिल्लो कार्तिकको तुलनामा १७ करोड ३५ लाख ८८ हजार रुपैयाँ कम हो । तथ्याङ्क अनुसार सानिमा लाइफ इन्स्यारेन्सले ३७ करोड ६७ लाख ६९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो कार्तिकमा ४६ करोड ३९ लाख १२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको सानिमा लाइफको ८ करोड ७१ लाख ४३ हजार रुपैयाँले बीमाशुल्क घटेको हो ।

बीमा कम्पनी  बीमा शुल्क आर्जन  रकम (लाखमा) अन्तर %
 कार्तिक २०८० कार्तिक २०७९
नेशनल लाइफ इन्स्योरेन्स 11009.37 11098.35 -0.80
मेट लाइफ इन्स्योरेन्स 3487.06 3717.24 -6.19
एशियन लाइफ इन्स्योरेन्स 4961.49 5355.37 -7.35
नेपाल लाइफ इन्स्योरेन्स 24875.20 28658.07 -13.20
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स* 2221.65 2579.84 -13.88
हिमालयन लाइफ इन्स्योरेन्स* 9851.90 11553.76 -14.73
एलआईसी नेपाल   10581.14 12490.68 -15.29
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स* 3767.69 4639.12 -18.78
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 1998.17 2505.76 -20.26
सिटिजन्स लाइफ इन्स्योरेन्स 2825.15 3592.87 -21.37
आइएमई लाइफ इन्स्योरेन्स 2032.56 2795.82 -27.30
सूर्यज्योति लाइफ  इन्स्योरेन्स* 4575.39 6311.27 -27.50
सन् नेपाल लाइफ इन्स्योरेन्स 2418.32 3403.40 -28.94
राष्ट्रिय जीवन बीमा कम्पनी 1741.55 3645.25 -52.22
जम्मा बीमाशुल्क 86346.64 102346.80 -15.63

 

त्यस्तै चालु आवमा चौथो महीना कार्तिकमा मेट लाइफले ३४ करोड ८७ लाख ६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो अघिल्लो कार्तिकको तुलनामा ६.१९ प्रतिशत अर्थात २ करोड ३० लाख १८ हजार रुपैयाँ कम हो ।  गत वर्षको कात्तिक महिनाको तुलनामा सिटिजन लाइफ इन्स्योरेन्सको बीमाशुल्क रकम २१.३७ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरन्सको २८.९४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सको १३.८८ प्रतिशतले घटेको छ विसं २०८० कार्तिक महीनामा सिटिजनले २८ करोड २५ लाख १५ हजार रुपैयाँ, सन नेपालले २४ करोड १८ लाख ३२ हजार रुपैयाँ र प्रभु महालक्ष्मीले २२ करोड २१ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । विसं २०७९ कार्तिकमा सिटिजनको ३५ करोड ९२ लाख ८७ हजार, सन नेपालको ३४ करोड ३ लाख ४० हजार र प्रभु महालक्ष्मी लाइफको बीमाशुल्क २५ करोड ७९ लाख ८४ हजार रुपैयाँ थियो ।

प्राधिकरणको तथ्याङ्क अनुसार आईएमई लाइफ इन्स्योरेन्सले कार्तिकमा २० करोड ३२ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो कार्तिकमा २७ करोड ९५ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क उठाएको यस कम्पनीको समीक्षा अवधिमा २७.३० प्रतिशत अर्थात ७ करोड ६३ लाख २६ हजार रुपैयाँले बीमाशुल्क संकलन घटेको हो । यस्तै रिलायबल लाइफको पनि अघिल्लो कार्तिकको तुलनामा ५ करोड ७ लाख ५९ हजार रुपैयाँ अर्थात २०.२६ प्रतिशतले घटेको छ । अघिल्लो कार्तिकमा २५ करोड ५ लाख ७६ हजार रुपैयाँ प्रिमियम संकलन गरेको यस कम्पनीले यो वर्षको कार्तिकमा १९ करोड ९८ लाख १७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

कार्तिकमा सबैभन्दा कम बीमशुल्क उठाउने कम्पनी सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साबिक राष्ट्रिय बीमा संस्थान) ले १७ करोड ४१ लाख ५५ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो कार्तिकको तुलनामा कम्पनीके बीमाशुल्क ५२.२२ प्रतिशत अर्थात १९ करोड ३ लाख ७० हजार रुपैयाँले घटेको हो । अघिल्लो कार्तिकमा राष्ट्रिय बीमा संस्थानले ३६ करोड ४५ लाख २५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । बीमाशुलकको हिसाबले अघिल्लो कार्तिकमा नवाैं स्थानमा रहेको कम्पनीले हाल सबैभन्दा अन्तिमममा पुगेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।