सेयर बजारको वृद्धि टिकेन, बुधबार १८ अंकको गिरावट

0
Shares

सेयर बजारको वृद्धि अस्थायी प्रकृतिको देखिएको छ । घट्दो ब्याजदर र बैंकिङ्ग प्रणालीमा तरलताकाबीच पनि सेयर बजारलाई हेर्ने नियामकीय दृष्टिकोण सफेद हुन नसक्दा सेयर बजारका लगानीकर्ताको मनोबल बढ्न नसकेको हो ।

बजारको वृद्धिप्रति लगानीकर्ता आश्वस्त हुन नसक्दा अलिकति बजार बढ्ने बित्तिकै बेच्न हतारिने प्रवृति रहेको छ । यसले बजारलाई गति लिनमा ब्रेक लगाउने गरेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाका लागि जुटेकाले उक्त समीक्षापछि आगामी साताबाट बजारले रफ्तार लिने वा थप घट्ने बाटो निक्र्यौल हुने देखिन्छ । अहिले लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको पर्खाईमा रहेकाले बजार थप चलायमान हुन नसकेको जानकारहरु बताउँछन् ।

गत बुधबार, बिहीबार र आइतबार बढेको सेयर बजारमा सोमबारदेखि गिरावटको क्रम सुरु भएको थियो । तीन दिनमा ७८.२९ अंकले बढेर १९ अंकमाथि पुगेको सेयर बजार पछिल्ला तीन दिनमा ३१.३३ अंकले घटेसँगै बजार सूचक पुनः १८७६.६० बिन्दुमा झरेको छ । सोमबार ११.२३, मंगलबार २.१७ र बुधबार १७.९३ अंकले बजार ओरालो लागेको हो । यसअघि बुधबार २०.६७, बिहीबार ९.८७ र शुक्रबार ४७.७५ अंकले बजार उकालो लागेर नेप्से १९०७.९५ बिन्दुसम्म पुगेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार बजार सूचक ०. ९४ प्रतिशत अर्थात १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा अडिएको छ । सबा १२ बजेपछि निरन्तर ओरालो लागेको नेप्सेमा २९० स्क्रिप्टका ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर २९ हजार ८८३वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार रकम अघिल्लो दिनको तुलनामा २६ करोड ६० लाखले घटेर १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँमा समेटिएको छ । मंगलबार २९० कम्पनीका ४७ लाख २७ हजार ९०२ कित्ता सेयर ४७ हजार ३३३ वटा कारोबारबाट १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँमा खरिद बिक्री भएका थिए ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये अन्य बाहेक सबै १२ वटै राताम्मे बनेका छन् । उत्पादन तथा प्रशोधनमुलक सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको यसदिनको बजारमा विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनमुलक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र ब्यापारको इन्डेक्स १ प्रतिशतभन्दा धेरैले घटेका छन् ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको घटेर सबैभन्दा धेरै कारोबार भएको छ । बुधबार कम्पनीको सेयर ५ रुपैयाँ ७० पैसा घटेर ६ करोड २८ लाख ९७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै एनआईसी एशिया बैंक डिबेञ्चर २०८१।८२ को ५ करोड ३ लाख ५० हजार, सिटिजन लाइफ ३ करोड ६८ लाख ९ हजार, मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर ३ करोड ३८ लाख ५ हजार र सोल्टी होटलको ३ करोड ३७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको बजारमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशत अर्थात ५९ रुपैयाँ १० पैसाले बढेर प्रतिकित्ता ६५७ रुपैयाँ पुगेको छ । यस्तै कुमारी धनवृद्धि योजनाको इकाई ३.६३, सिटिजन म्युचुअल फन्ड–२ को ३.५५, अपर हेवाखोला हाइड्रोपावरको ३.१४ र सानिमा लार्ज क्याप फन्डको २.४२ प्रतिशतले मूल्य बढेको छ ।

उता बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशत अर्थात ३९ रुपैयाँ ४० पैसाले घटेर प्रतिकित्ता ३५५ रुपैयाँ ४० पैसामा झरेको छ । अभियान लघुवित्त ७.०३ प्रतिशत, महुली लघुवित्त ५.३० प्रतिशत, श्वेतगंगा हाइड्रोपावरको ५.२७ प्रतिशत र युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य ५.०९ अर्थात २ हजार १३१ रुपैयाँले घटेर ३९ हजार ७४९ रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य अधिकतम ४५ हजार १५१ रुपैयाँसम्म पुगेको थियो । प्रतिसेयर १५८० नगद लाभांश दिएको कम्पनीले मंसिर १२ गते बुकक्लोज गरेसँगै मूल्य घट्न थालेको हो ।

यसदिनको बजारमा कारोबार कित्ता र सङ्ख्या दुबैका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड अग्र स्थानमा रहेको छ । कम्पनीको २ लाख ९ हजार ३६१ कित्ता सेयर ४ हजार ४४३ वटा सङ्ख्यामा कारोबार भयो ।

बुधबारको कारोबापछि कुल बजार पुँजीकरण रुपैयाँले २७ अर्ब ६५ करोड ७९ लाख रुपैयाँले घटेर २८ खर्ब ९३ अर्ब ४० करोड ४८ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन मंगलबार २९ खर्ब २१ अर्ब ६ करोड २७ लाख थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।