नेपाल राष्ट्र बैंकको खुद नाफा ४१%ले बढ्यो, साढे ८७ अर्ब मुनाफा आर्जन

0
Shares

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९–८० मा खुद नाफा ४१.३४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थमन्त्री समक्ष बुझाएको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन अनुसार बैंकको नाफा ८७ अर्ब माथि पुगेको हो ।

मुलुकको केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९–८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४४८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा राष्ट्र बैंकको खुद मुनाफा ६१ अर्ब ९८ करोड ७ लाख १२ हजार रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा गत वर्ष २५ अर्ब ६२ करोड रूपैयाँ बढी हो ।

गत आवमा राष्ट्र बैंकले वैदेशिक मुद्राबाट प्राप्त ब्याजबाट ४८ अर्ब ३६ करोड ६० लाख र स्वदेशी मुद्राबाट १५ अर्ब ४३ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा क्रमशः १५८.१४ र २.९७ प्रतिशत धेरै हो ।

वैदेशिक मुद्राबाट प्राप्त ब्याजमा सुधार आएसँगै बैंकको कुल सञ्चालन आम्दानी ३५ अर्ब ८७ करोड २१ लाखबाट बढेर ६६ अर्ब ९२ करोड ७१ लाख पुगेको छ । यस्तो सुनको पुनःमुल्याङ्कनबाट १७ अर्ब ११ करोड तथा वैदेशिक मुद्राको पुनःमुल्याङ्कनबाट १० अर्ब बराबरको आय भएको हो । पाँच अर्ब चुक्ता पुँजी रहेको बैंकमा ७६ अर्ब १२ करोडको साधारण जगेडा कोष र ८१ अर्ब ३० करोड बराबरको अन्य जगेडा कोष रहेको छ ।

बिहीबार भएको उक्त भेटवार्तामा गभर्नर अधिकारी र अर्थमन्त्री महत बीच मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ । साथै मौद्रिक नीतिको समीक्षाका सम्बन्धमा पनि छलफल भएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।