मनकामना स्मार्ट लघुवित्तले पनि बनायो सेयरधनीको हातखाली

0
Shares

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७९–८० को मुनाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । यससँगै यस लघुवित्तका सेयरधनीको हात पनि यो वर्ष खाली हुने भएको छ । ग्रामीण विकास लघुवित्त र हिमालयन लघुवित्तले यसअघि नै लाभांश वितरण नगर्ने निर्णय गरिसकेका छन् ।

कम्पनीको मङ्सिर १४ गते बिहीबार अपरान्ह ३ः३० बजे बसेको सञ्चालक समितिको ९० औं बैठकले आव २०७९–८० को खुद मुनाफाबाट बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने गरी रकम बाँडफाँड नगरिएको कम्पनी सचिव कुलमणि ज्ञवालीले जानकारी दिए ।

बैठकले संस्थाको २०८० असार मसान्तको वासलात, आव २०७९–८० को नाफा नोक्सान तथा सो सित सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गरेको छ । साथै वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्ने निर्णय गरेको छ ।

अघिल्लो आव २०७८–७९ बाट कम्पनीले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गको संस्था हो लघुवित्तको केन्द्रीय कार्यालय, सिद्धार्थनगर ५, रुपन्देहीमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।