नारायणगढ–मुग्लिन सडक खण्ड बिहीबार पनि बन्द हुने, पहिरो रोकथाम जारी

0
Shares

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि बुधबार र बिहीबार दिउँसोे पनि सडक बन्द हुने भएको छ।

सडक आयोजनाले मंगलबार सूचना जारी गर्दै ढुंगा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ । गत मंसिर २७ गतेयता बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडकमा आवागमन बन्द गरीे काम हुँदै आइरहेको छ।

पहिरो रोकथामका काम नसकिएकाले बिहीबार दिउँसो पनि सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भए पनि काम नसकिएपछि दोस्रोपटक समयावधि थप गरिएको उनले बताए।

सो अवधिमा अत्यावश्यक सवारीसाधनलाईे प्रवेश दिइने छ। सडकखण्डको आठ ठाउँमा पहिरो रोकथामको काम भइरहेको छ। नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुंगामा रोकिने छन्।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आँबुखैरेनीमा रोकिने आयोजनाले जनाएको छ।