इरान र अमेरिकाबीच तनाब बढ्दा, नेपालमा सुनको मूल्य नयाँ उचाईमा

0
Shares

इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा देखिएको छ । बुधबार विहान इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको खबर सार्वजनिक भएपछि नेपाली बजारमा सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ उक्लिएको छ ।

नेपाली बजारमा सुनको मूल्य बुधबार हालसम्मकै सबै भन्दा उच्च मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ पुगेको छ । मंगलबार सुन ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँँदी व्यवसायी महासंघले बुधबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७६ हजार ५ सय तोकेको छ । यस्तै तेजावी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७६ हजार २ सय तोकिएको छ भने चाँदी प्रतितोला ९ सय २० रुपैयाँ पुगेको छ ।

गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए । बगदाद अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिए पछि अमेरिका र इरानबीच तनाव चुलिएको थियो । बुधबार विहान इरानले जवाफी कारबाहीमा अमेरिकी सैन्य शिवरमा आक्रमण गरेको हो ।

दुई देशबीच युद्ध हुने आशंकाले विश्व बजारमा सुनको जोहो गर्न सुन किन्नेदर बढेकाले सुन चादीको मू्ल्यमा असर परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

इकोनोमिक्स टाईम्सका अनुसार अमेरिकमा सुनको मूल्य पछिल्लो चार महिना यताकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बुल्मबर्गले मध्य पूर्वको तनावका कारण विश्व बजारमा सुनको मूल्य ६ वर्ष यताकै सबै भन्दा उच्च बिन्दुमा पुगेको उल्लेख गरेको छ ।