ललितपुरमा संचालनमा आयो सातदोबाटो नेपाली जुत्ताघर

0
Shares

नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो ।

सामूहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरे । साथै नेपाली जुत्ता उत्पादक उद्योगीहरूको समूहलाई सामूहिक शोरुमको सफलताका लागि शुभकामना व्यक्त गरे । उनले नेपाली उत्पादनको प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगत रूपमा सिंगो उत्पादन क्षेत्र अघि बढाउन महत्वपूर्ण भूमिका निभाउने कुरा बताए । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रूपमा योगदान पुर्‍याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गरे ।

यसअघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ । यस शोरुममा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुची र चाहना अनुरुपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरूको विश्वास रहेको छ ।

साथै विभिन्न व्यापारीक च्यानलमार्फत बजारमा उत्पादन पठाउँदा बस्तुको मूल्यवृद्धि हुने र यसले उत्पादक र उपभोक्ता दुबै पक्ष मारमा पर्ने भएकाले सामूहिक शोरुमको यस अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरू प्राप्त गर्ने नेपाली जुत्ताघरले दाबी गरेको छ ।

सातदोबाटो नेपाली जुत्ता घरमा विएफ डियर हिल र वीएफ स्पोट, रोयल शुज, फस्टवाक शुज, क्रस रोड शुज, डि।जे। शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध छन्‌ । उद्योगीहरूको यस समूहले आगामी दिनमा देशभरका विभिन्न स्थानहरूमा नयाँ शोरुमहरू खोल्ने र उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउने जानकारी दिएको छ ।

उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरूको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।