उन्नति सहकार्यको एफपीओ बाँडफाँडको १० दिनमै सूचीकृत, मंगलबारदेखि किन्नबेच्न सकिने

0
Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँडको दशौं दिनमा नै नेप्सेमा सूचीकृत भएको छ । केही कम्पनीको सेयर सूचीकरणमा महीनौं लागिरहेको अवस्थामा कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले छिटो सेयर सूचीकरण गराएको हो ।

उन्नति सहकार्य लघुवित्तको एफपीओ मंङ्सिर ८ गते शुक्रबार बिहान बाँडफाँड भएको थियो । कम्पनले बाँडफाँड गरेको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ मंङ्सिर १८ गते सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा सूचीकृत भएको हो । सोमबार सूचीकृत भएसँगै कम्पनीको एफपीओ मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ । कम्पनीको धितोपत्र युएसएलबि कारोबार संकेतमा खरिद बिक्री हुँदै आएको छ ।

प्रतिकित्ता १०० रुपैयाँको दरले निष्काशन भएको लघुवित्तको एफपीओ १७ हजार ८४५ जनाले मात्र हात पारेका थिए । जसमा १७ हजार ८४४ जनाले १० कित्ता र एक जनाले १०.१८ कित्ता तथा एक जनाले ११ कित्ता सेयर बाँडफाँड गरिएको थियो । सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट सेयर पाउने लगानीकर्ता छनोट गरिएको थियो ।

एफपीओमा आवेदन गरी सेयर पाउन योग्य स्वीकृत आवेदन सङ्ख्याको ९८।३३ प्रतिशत अर्थात १० लाख ५४ हजार ५९८ जनाको हात खाली भएको छ ।सो सेयरमा कुल १० लाख ७२ हजार ७६८ आवेदनबाट १ करोड १७ लाख २४ हजार ४४० कित्ताको माग आवेदन परेको थियो । जसमध्ये रितपुर्वक नपरेका कारण ३२५ आवेदनबाट माग भएको ३ हजार ५८० कित्ताको माग रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । एफपीओ बाँडफाँडमा १० लाख ७२ हजार ४४३ आवेदनबाट माग भएको १ करोड १७ लाख २० हजार ८६० कित्ताको माग स्वीकृत गरी बाँडफाँडमा सहभागि गराइएको थियो ।कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा पुगेको छ ।

हाल लघुवित्तको कारोबार गर्ने मुख्य स्थान सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ भैरहवा, रुपन्देहीमा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको २८ जिल्लामा ८२ शाखा कार्यालयहरु रहेका छन्। कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्नुका साथै जारी पुँजी बढाउन एफपीओ जारी गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।