राष्ट्र बैंकले एक वर्षमा ६० अर्ब ४० करोड रुपैयाँ बढीको नोट नष्ट गर्यो

0
Shares

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८०) मा करिब झण्डै साढे ६० अर्ब रुपैयाँ धुल्याएको (नष्ट) गरेको छ ।

नेपाल राष्ट्र बैंकले बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/८० मा ६० अर्ब ४० करोड ११ लाख १८ हजार ८ सय ९५ रुपैयाँ बराबरका नोटहरू धुल्याउने कार्य गरिएको जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणले राष्ट्र बैंकमा जम्मा गर्न/सट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न उक्त रकम बराबरको नोट नष्ट गरेको हो । राष्ट्र बैंकले यस अवधिमा २८ करोड ३२ लाख १७ हजार थान नोट धुल्याउने कार्य भएको जनाएको छ।

केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तसम्ममा ६ खर्ब ४० अर्ब ८ करोड बराबरका नोटहरू चलनचल्तीमा रहेका छन । जुन अघिल्लो वर्षको भन्दा १.२० प्रतिशतले धेरै हो। २०७९ असार मसान्तसम्ममा विभिन्न दरका गरी ६ खर्ब ३२ अर्ब ४७ करोड बराबरका नोटहरू चलनचल्तीमा रहेका थिए ।

राष्ट बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु.५ दरको ७ करोड ८० लाख थान, रु.१० दरको १३ करोड थान र रु. ५०० दरको ६ करोड थान छपाई भई आएका नयाँ नोटहरू बैंकको ढुकुटीमा दाखिला भएको छ ।

त्यस्तै २०७९ साउनदेखि २०८० असार मसान्तसम्मको अवधिमा विभिन्न दरका ४६ करोड ६२ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन भएको छ ।

आर्थिक वर्ष २०८० असार मसान्तमा विभिन्न दरका २ खर्ब १६ अर्ब ५४ करोड ९२ लाख ४९ हजार बराबरको नयाँनोट स्टक मौज्दात रहेका छन । अघिल्लो वर्ष यस्तो मौज्दात २ खर्ब २७ अर्ब ८ करोड ६७ लाख ४९ हजार रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट बैंकले नोट छपाई चक्रमा छपाई हुने नोटहरूको आयु बढ्ने गरी नोटमा प्रयोग हुने पदार्थ तथा प्राविधिक पक्षलाई स्तरोन्नति गरिएको, नोटमा सुरक्षण व्यवस्थाहरू समेत थप गर्दै नेपाली नोट अन्तर्राष्ट्रिय गुणस्तरबमोजिम हुने गरी अझ सुरक्षित बनाउँदै लगिएको जनाएको छ । चालु नोट छपाई चक्रमा रु.२० दरको नोट छपाई गर्न सम्झौता भई डेलिभरी आउने क्रममा रहेको तथा रु.५० र रु.१,००० दरको नोट छपाई गर्ने सम्झौता भईसकेको पनि जनाएको छ ।

राष्ट्र बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू फिर्ता ल्याएर धुल्याउने गरेको छ । जलाएर वा स–साना टुक्रा पारेर नोट नष्ट गर्नुलाई ‘नोट धुल्याउने’ भनिन्छ । चलनचल्तीमा ल्याउन अयोग्य र झुत्रा नोटहरूको जलाएर धुल्याइन्छ ।

राष्ट्र बैंकले नोट धुल्याउने नियमावलीअनुसार नोट नष्ट गर्दै आएको छ । नियमावलीअनुसार नोट धुल्याउने समिति निर्माण गरिएको हुन्छ । केन्द्रको नोट धुल्याउने समितिमा नोट विभागको प्रमुख, अर्थ मन्त्रालयका प्रतिनिधि, राष्ट्र बैंकको कानुन विभागका प्रतिनिधि, नोट विभागका प्रमुखले तोकेको प्रतिनिधि र नोट विभागको नगदतर्फको अधिकारी रहन्छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।