सेयर बजार दोहोरो अंकले बढ्यो, पौने ३ अर्बको कारोबार

0
Shares

सेयर बजार बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से बिहीबार ११.७३ अंकले बढेर १८५२.७७ बिन्दुमा बन्द भएको छ ।

यसदिन २९९ स्क्रिप्टका ९५ लाख ५ हजार ६०८ कित्ता सेयर ५३ हजार १४६ पटक भएको कारोबारमा किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ । बुधबार एक अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार बढेर २ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । नेपाल रि इन्स्योरेन्सको संस्थापक सेयरको कारोबारले आज कारोबारमा उच्च बढोत्तरी भएको हो । 

यसदिन २१० कम्पनीको सेयर मूल्य उकालो लाग्दा ७४ कम्पनीको ओरालो लागेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बीमामा बिहीबार धेरै आकर्षण रहेको छ । निर्जीवन बीमा उपसमूह २.११ प्रतिशत तथा जलविद्युत १.०३ प्रतिशतले बढेको छ । ब्यापार मात्र ०.५० प्रतिशतले घटेको छ । आज १२ उपसूचकमा हरियाली देखिएको छ । बिहीबार बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको ०.५६ प्रतिशत, फाइनान्स समूहको ०.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६५ प्रतिशतसहित १२ उपसूचकमा सुधार देखिएको छ ।

आज त्रिशूली विद्युत् कम्पनी, समाज लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त र नबिल ब्यालेन्स फन्ड–२ को सेयर १० प्रतिशतले बढेको छ । आजको बजारमा शीर्ष स्थान गुमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ७.८१ प्रतिशतले घटेर प्रतिकित्ता ७९१ रुपैयाँमा झरेको छ ।

कारोबार रकमका हिसाबले बिहीबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो । यस कम्पनीको मात्रै ८६ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सिटिजन लाइफको ९ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

यो साता आइतबार ७.२९ अंकले घटेको बजार सोमबार ३.४२ अंकले घटेको थियो। मंगलबार पुनः १०.१० अंकले घटेको बजार बुधबार ३.३३ अंकले बढेको थियो। २०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसेकोमा अहिले १८०० बिन्दुनजिक तलमाथि भइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।