अर्थतन्त्र स्थायित्वतर्फ उन्मुख, समष्टिगत परिसूचकहरु सकारात्मक : अर्थ मन्त्रालय

0
Shares

सरकारले चालु आर्थिक बर्षको पाँच महिनाको प्रगति विवरण सार्वजनिक गर्दै देशको अर्थतन्त्र स्थायित्वतर्फ उन्मुख रहेको जनाएको छ ।

अर्थ मन्त्रालयले गत साउनदेखि मंसिरसम्मको अवधिमा आर्थिक क्रियाकलापहरु विस्तार र समष्टिगत परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरेको छ ।

मन्त्रालयले बुधबार रिपोर्ट सार्वजनिक गर्दै निकासीमा भएको वृद्धि र पैठारीमा भएको कमीसँगै वैदेशिक व्यापारको असन्तुलनमा सुधार आएको जनाएको छ । आयात घटेका कारण भन्सार राजस्व असर परे पनि आन्तरिक राजस्व परिचालनमा उल्लेखीय वृद्धि भएको अर्थमन्त्रालयले जनाएको छ ।

संघीय सरकारको खर्च र राजस्व संकलनमा सामान्य वृद्धि, स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा उत्साहजनक वृद्धिका साथै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने कामदारको संख्यामा समेत मंसिर महिनामा सुधार देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै विदेशी लगानीमा उत्साहजनक वृद्धि भएको र पर्यटक आगमनमा समेत सुधार देखिएको विश्लेषण अर्थको छ । विद्यूत उत्पादन, आपूर्ति र उपभोग बढेको, बैंकिङ सेवा र बीमाको पहुँचका वृद्धि लगायतले मुलुकभित्र आर्थिक क्रियाकलाप बिस्तार भएको अर्थ मन्त्रालयको भनाई छ ।