स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै

0
Shares

पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो ।

सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख रमेन्द्रप्रसाद कुशवाहले बताए । उनका अनुसार सदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको सङ्ख्या ५ लाख ४२ हजार ३७३ पुगेको छ ।

स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सबैभन्दा बढी कैलालीमा २ लाख ८० हजार ९५७ पुगेको छ भने कञ्चनपुरमा ५९ हजार ५२ र अछाममा ५५ हजार ४८३ जनाले स्वास्थ्य बीमा गराएका छन् । यसैगरी बझाङमा ३९ हजार ९७३, बाजुरामा ३४ हजार ५८९, बैतडीमा २३ हजार ८५८, डडेल्धुरामा १९ हजार ९१०, डोटीमा १६ हजार ३५५ र दार्चुलामा १२ हजार १९६ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्याङ्कले देखाएको छ ।

प्रमुख कुशवाहका अनुसार पुराना बिमितमध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक ३ हजार ५०० प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ ।

बिमित परिवारका सदस्य बिरामी हुँदा एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको हो ।

स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र सङ्घीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र सङ्घीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् ।

सरकारले विसं २०७२ बाट देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो ।

सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।