साढे ९३ करोड लगानीमा काठमाडौंमा चार तारे ‘आर्य होटल एन्ड स्पा’ निर्माण हुँदै

0
Shares

काठमाडौंको ठमेल क्षेत्रमा ९३ करोड ६० लाख लगानीमा ‘आर्य होटल एन्ड स्पा’ निर्माण भइरहेको छ । अत्याधुनिक सेवा युक्त सो होटल सन् २०२४ को जुन महिनाबाट सञ्चालनमा आउने छ ।

सन् २०१८ देखि निर्माणाधीन उक्त होटलको सन् २०२३ को अक्टोबरसम्म ७० प्रतिशत भौतिक निर्माण र ६७ प्रतिशत वित्तीय प्रक्रिया सम्पन्न भएको छ । सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण होटलको निर्माण कार्य सुस्त भएको थियो ।

कुल ६१४.८८ वर्ग मिटरमा निर्माण भएको आर्य होटल एन्ड स्पामा कुल ८० वटा कोठा रहेका छन् । होटलमा फुड एन्ड वेभरेज सुविधा उपलब्ध हुनुका साथै स्वीमिङ पूल, कन्फेरेन्स हल, हिटेड जाकुजी र अन्य सुविधाहरु उपलब्ध हुनेछन् ।

कम्पनीले होटल निर्माणका लागि ७५ करोड कर्जा लिने भएको छ । रेटिङ एजेन्सी केयर नेपालले ७२ करोड २६ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र २ करोड ७४ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

होटलमा कृष्णप्रसाद सिमखडाको एकल लगानी रहेको छ । २० वर्षदेखि हस्पिटालिटी क्षेत्रमा अनुभव लिएका र जापानमा १४ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेका सिमखडाले नेपालमा आर्य होटल एन्ड स्पा सञ्चालन गर्ने भएका हुन् ।

काठमाडौंमा पछिल्लो समयमा प्रिमियम होटल निर्माणको श्रृङ्खला बढ्दै गएको छ । जसकारण होटलहरुमा प्रतिस्पर्धा समेत बढेको छ । प्रिमियम होटलहरु बीचको बढ्दो प्रतिस्पर्धाले आर्य होटल एन्ड स्पाले अपनाउने रणनीतिमा नै होटलको भविष्य निर्भर छ । होटलमा लगानी गरिएको प्रतिफल ढिलो उठ्ने भएका कारण होटल दीर्घकालसम्म सञ्चालन हुन्छ वा हुँदैन भन्ने मै प्रश्नहरु उठेका छन् ।

तथापि ठमेल क्षेत्रमा होटल अवस्थित छ । पर्यटकहरुको आवतजावत ठमेल क्षेत्रमा नै हुने भएकाले होटलले दीर्घकालसम्म सञ्चालनमा रहने विश्वास गर्न सकिन्छ । साथै नेपाल सरकारले समेत पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि ठूलो रकम विनियोजन गरेको छ । पछिल्लो समयमा नेपालमा बाह्य पर्यटकहरुको सङ्ख्या समेत बढ्दै गएको छ । जुन दर्घिकालमा आर्य होटल एन्ड स्पाका लागि सुखद हुने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।