धितोपत्र बोर्ड अध्यक्षले पदभार ग्रहणसँगै अगाडि बढाए ‘पेण्डिङ’ काम, ५८ बुँदे कार्यन्वयन गर्न छलफल

0
Shares

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले शुक्रबार पदभार ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा बिहान शपथ लिएर बोर्ड कार्यालय जावलाखेल पुगेका ढुंगानाले आजै कार्यभार सम्हालेका हुन्।

ढुंगानाले नेपाल एसबिआई बैंकको पाइपलाइनमा रहेको डिबेन्चर स्वीकृत गरेर बोर्ड अध्यक्षको जिम्मेवारी लिदै काम सुरु गरेका छन् । एसबिआई बैंकले गत असोजमा दुई अर्ब बराबरको ऋणपत्र निष्काशनको माग गर्दे बोर्डमा आवेदन गरेको थियो ।

बोर्डको अध्यक्षमा नियुक्त भए लगत्तै नोटबजारसँगको कुराकानीमा ढुङगानाले विगतका बाँकी रहेका काम आफ्नो पहिलो प्राथमिकतामा रहने र सोही अनुसार काम गर्ने बताएका थिए ।

यस्तै ढुंगानाले आजै अर्थमन्त्रालयमा धितोपत्र बजारका विषयमा छलफल गर्ने भएका छन् । उनले विशेषगरी मुद्रा तथा पूँजीबजारको समस्या समाधान गर्न गठित समितिले दिएका ५८ बुंदे सुझावहरु कार्यन्वयन अवस्थाको सम्बन्धमा छलफल गर्ने जनाएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । नेपाल धितोपत्र बोर्डकै विज्ञ सदस्य रहेका ढुंङगाना स्टक एक्सचेन्ज (नेप्से) को पनि सञ्चालक समितिमा रहेर काम गरिसकेका छन् ।

धितोपत्र बजारमा प्रत्यक्ष रुपमा संलग्न ढुंङगानाले धितोपत्र बजारको दायरा विस्तार गरेर फराकिलो बनाउन आवश्यक रहेको बताए। “धितोपत्र बजारका मूख्य चुनौती भनेका बजारमा व्यवसायिकता वढाउने, धितोपत्र बजारमा प्रविधिको प्रयोग वढाउने, संस्थागत सुशासन कायम गर्ने तथा धितोपत्र सम्बन्धी ऐन तथा नियमहरुलाई समय सापेक्ष बनाउनु लगायत छन्,” उनले भने । शेयर बजारको स्थायीत्वका लागि हालका चुनौतिहरुलाई समाधान गर्न योजनावद्ध रुपमा काम गर्ने उनी बताउँछन् ।

आगामी चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त भएका ढुङगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुन् । राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ढुंगानाले राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेका थिए । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका ढुंगानाले बेलायतबाट फाइनान्समा एमबिए गरेका छन् ।