एक सातामा नयाँ स्टकलाई लाइसेन्स दिलाउने पहलमा हमाल, दवाबमा गराए यस्तो निर्णय


नयाँ स्टक एक्स्चेञ्ज ल्याउने विषय विवादको उत्कर्षमा रहेका बेला धितोपत्र बोर्डले अर्थ समितिको निर्णय सम्झाउँदै अर्थ मन्त्रालयलाई प्रष्टिकरण दिने भएको छ । विवादको रस्साकस्सी चलिरहेका बेला बुधबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्स्चेञ्ज ल्याउनुपर्ने आधार तथा कारण र सो सम्बन्धमा अर्थ समितिले बाटो खुलाएको विषय समेटेर अर्थ मन्त्रालयलाई प्रष्टिकरण सहितको सुझाव दिने निर्णय गरेको हो ।

आम लगानीकर्ता र सम्बद्ध पक्षले चासोका साथ हेरिरहेको यो विषयलाई सरकारले तत्काल अघि नबढाउन निर्देशन दिएपछि संसदको अर्थ समितिले सरकारको निर्णयले बाधक नबन्ने भन्दै प्रकृया अघि बढाउन सक्ने निर्णय गरेको थियो । सो सम्बन्धमा बोर्डले यसअघि गत शुक्रबार मात्र अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको थियो ।

बोर्ड अध्यक्ष हमालको कार्यकाल सहिन लाग्दै गर्दा यस सम्बन्धमा अन्तिम निर्णय गराउनका लागि पनि उनले फेरि अर्थ समितिले गरेको निर्णयको व्यहोरा सहित अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषदलाई घच्घच्याउने निर्णय गराएका हुन् । “बुधबारको बैठकले अर्थ समितिको निर्णयका आधारमा के कति कारणले बजारका लागि नयाँ स्टक एक्स्चेञ्ज जरुरी छ भन्ने विषयको प्रष्टीकरण सहितको पत्र अर्थ मन्त्रालयलाई पठाउने निर्णय गरेको छ,” बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले नोटबजारलाई बताए ।

बोर्डका सदस्यहरुले स्टकको लाइसेन्स प्रकृयाको बिरोध जनाउँदै आएका छन् । उता सरकारले केही समय अघि तत्काल प्रकृया स्थगन गर्न निर्देशन दिएको थियो। अर्थ समितिले यस सम्बन्धमा छलफल गरेर बाटो खुल्ला गर्दा फरक नपर्ने निर्णय गरेपछि बोर्ड अध्यक्ष हमालले कार्यकाल सकिन लाग्दै गर्दा लाइसेन्सको प्रकृयालाई पटक पटकको फलोअप सहित तीब्र बनाएका हुन् । उता सर्वोच्च अदालतको संवैधानिक इजलाशले पनि यो विषयलाई अघि बढाउन बाटो खुलाएको अवस्थामा हमालले सञ्चालक समितिका सदस्यहरुलाई लाइसेन्स प्रकृया तीब्र बनाउन बुधबारको बैठकको निर्णय गराउन लगाएका हुन् ।

धितोपत्र बोर्डका कर्मचारीदेखि नेपाल स्टक एक्स्चेञ्जका कर्मचारीहरुले समेत धितोपत्र बोर्डको निर्णय तथा कार्यशैलीमा विरोध जनाईरहेका बेला बोर्ड सञ्चालक समितिका सदस्यहरुले विवादित विषयलाई निर्णयमा नलैजान बोर्ड अध्यक्ष हमाललाई सुझाव तथा दवाब दिँदै आएका छन् । उक्त सम्बन्धमा मंगलबारको बैठकमा पनि सवाल जवाफ भएको बैठकमा सहभागि एक सदस्यले बताए ।

“गत शुक्रबार मात्र सञ्चालक समितिको बैठकले निर्णय नै गरेर मन्त्रालयलाई पत्राचार गरिसकेको अवस्थामा साता नबित्दै फेरि उही विषयमा किन बैठक बस्नुपर्यो ? मन्त्रालयले आफ्नो काम गरिरहेको होला, हतारो किन ?” भन्ने प्रश्न बैठकमा सदस्यहरुले उठाएका थिए ।

गत शुक्रबार सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयलाई नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स प्रकृयामा सहजीकरण तथा निर्देशनका लागि बोर्डले पत्राचार गरेको थियो । जवाफमा मन्त्रालयले गत सोमबार नयाँ स्टक एक्स्चेञ्जलाई अनुमति दिने विषयमा मन्त्रिपरिषदको निर्णय अनुसार काम नभएको भन्दै थप प्रक्रिया औंल्याएको थियो । मन्त्रालयको उक्त व्यहोराको पत्रलाई जवाफ दिन बोर्ड सञ्चालक समितिको बुधबारको बैठकले थप विषय प्रष्ट पार्ने निर्णय गरेको हो ।

बोर्डले यो विषयलाई उच्च प्राथमिकतामा राख्दै गर्दा सञ्चालकहरु सुरकृष्ण वैद्य तथा प्रकाश श्रेष्ठले विशेष गरी प्रकृयाको विरोध गर्दै आएका छन् । बुधबारको बैठकमा सुरकृष्ण उपस्थित भएका थिएनन् भने प्रकाश श्रेष्ठले प्रकृयाका सम्बन्धमा विरोध जनाएका थिए ।

पुस २३ गतेदेखि कार्यकाल सकिन लागेका बोर्ड अध्यक्ष हमालले पुस ११ गतेदेखि आफू विदामा बस्ने जानकारी गराउँदै प्रकृयालाई एउटा चरणमा लैजान खोजिएको बोर्ड बैठकमा बताएका थिए । यस सम्बन्धमा बोर्ड बैठकमा अलग समिति बनाएर मात्र अघि बढ्नुपर्ने आवाज उठेको थियो ।

सञ्चालन अनुमतिका लागि आवेदन दिएका हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले अनुमति पर्खिरहेका छन् । सञ्चालन अनुमति आफ्नो पक्षमा पार्नका लागि ठूलो आर्थिक चलखेल भईरहेको चौतर्फी चर्चा र आरोपका बिच बोर्ड अध्यक्ष हमालले आफ्नो कार्यकाल बाँकी नै रहँदा उक्त प्रकृयालाई निर्णयमा पुर्याउने पहल गरेका हुन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।