बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित पुस २९ गते आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रालिमा बिहान १०ः३० बजे साधारण सभा बोलाइएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले आफ्नो ५१ पतिशत सेयर रहेको ९३.४५ मेगावाट क्षमताको सिंकोस खोला जलविद्युत आयोजना र आफ्नो स्वामित्वमा रहेको ०.७५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजनाको निर्माणको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको छ । सञ्चालक समितिको बैठकबाट प्रस्तावित हकप्रद १ बराबर १ अनुपातमा हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

मंसिर २१ देखि २६ गतेसम्म कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता आईपीओ जारी गरेर पुस ३ गते आइतबार बाँडफाँड गरेको थियो । कम्पनीको सेयर २०७९ पुस १९ गते मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री हुँदै आएको छ ।
यस्तै सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते शुक्रबार एकदिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा पुस १९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले बागलुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७४ असार २४ गतेदेखि ठेउले खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।