जगदम्बा स्पिनिङ मिल्सले १८.३८% लाभांश बाँड्दै, आईपीओमा जाँदै

0
Shares

जगदम्बा स्पिनिङ मिल्सले चुक्ता पुँजीको १७.४६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९२ नगद गरी कुल १८.३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १ अर्ब २४ करोड ३० लाख रुपैयाँको १७.४६ प्रतिशत बोनस (२१ करोड ७० लाख रुपैयाँ) र कर प्रयोजनका लागि ०.९२ नगद (१ करोड १४ लाख २१ हजार ५२ रुपैयाँ) लाभांश प्रस्तावसँगै साधारण सभा समेत डाकेको छ ।

सौरभ ग्रुप अन्तर्गतको उक्त मिल्सले सभाबाट सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ । सौरभ समूहका प्रबन्ध निर्देशकमा विष्णु न्यौपाने छन् । सभाबाट प्रस्ताव गरी कम्पनीले प्रकृया अगाडि बढाउने भएको हो । जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेडले यहि पुस २६ गते बिहीबार न्यौपाने टावर तीनकुने काठमाडौको चौथो तलाको हलमा सभा बोलाएको छ ।

सभाले प्रबन्धपत्र वा नियमावलीमा संशोधन गर्ने तथा संसोधन उपर नियमनकारी निकायबाट कुनै संसोधन गर्न निर्देशन आएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साथै सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

विसं २०७८ फागुनमा भैरहवामा रहेको उद्योगमा विद्युत शर्ट सर्किट भई आगलागी भई उद्योगको टीएफओ मेसिन, विद्युत प्यानल, विद्युतीय तारहरु नष्ट हुँदा करिब चार करोडको क्षति भएको थियो । जगदम्बाबाट उत्पादित धागो शतप्रतिशत निकासी हुन्छ । जगदम्बाको सबैभन्दा ठूलो बजार भारत र टर्की हो । उद्योगमा ७०० बढी मजदुर कार्यरत छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।