कृषि विकास बैंकको लाभांश पारित, पुस १० गतेसम्म कायम शेयरधनीले पाउने

0
Shares

कृषि विकास बैंकको तेह्रौं वार्षिक साधरण सभाले गत आर्थिक वर्षको प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको छ ।

पुस २७ गते केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न साधारण सभाले ६ प्रतिशत बोनस शेयर र कर सहित २४ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश पारित गरेको हो।

उक्त लाभांश पुस १० गतेसम्म कायम बैंकका शेयर धनीलाई मात्र वितरण हुनेछ। बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस १३ गते आइतबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

यस्तै बैंकले नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयको लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ भने प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

सरकारको अग्रधिकार शेयर समेत गरी हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ छ । जसमा सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँको अग्राधिकार शेयर हो भने बाँकी ९ अर्ब १ करोड ५५ लाख २९ हजार रुपैंयाको साधारण शेयर छ । यो शेयरमा पनि सरकारको ५१ प्रतिशत स्वामित्व छ।

६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ। अग्राधिकार शेयर वापत भने सरकारले प्रत्येक आर्थिक वर्षमा स्थिर दरले ६ प्रतिशत नगद लाभांस लैजाने गरेको छ। बोनस वितरणपछि सरकारको अग्राधिकार शेयर समेतको चुक्ता पूँजीको आकार १५ अर्ब ३१ करोड ५१ लाख ३४ हजार रुपैयाँ पुग्नेछ।