सेयर बजारको सुधारमा निरन्तरता, बैंकिङ क्षेत्रको अधिक तरलताले बढायो लगानीकर्ताको आत्मबल


नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार साढे ३६ अङ्कले बढेको नेप्से सूचक मंगलबार २० अङ्क भन्दा धेरैले बढेको हो । 

यो साताको सुरुवाती दिन आइतबार २६ अङ्कले घटेको नेप्से सूचक त्यसपछिका दिनमा निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता खिचेपछि ब्याजदर बढेको असर आइतबारको सेयरमा परेको थियो । तर, त्यसपछिका दिनमा बैंकिङ प्रणालीमा निरन्तर तरलता थपिएको र अल्पकालीन ब्याजदर घटेको कारण सेयर बजार सकारात्मक भएको हो । 

राष्ट्र  बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत सेयर सहज कर्जा जाने क्षेत्र रियल स्टेट, सेयर धितो तथा ओभरड्राफ्ट गरेको लडाइलाई विस्तारै खुकुलो बनाउँदै गएको छ । केन्द्रीय बैंकले व्यक्तिगत कर्जामा देखाएको लचकताको सकारात्मक प्रभाव धितोपत्र बजारमा देखिएको हो । केन्द्रीय बैंकले धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको छ । 

त्यसभन्दा अघि केन्द्रीय बैंकले तोकेको सीमालाई समेत खुकुलो बनाएको थियो । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम पुर्याएको छ ।

अर्थतन्त्रमा देखिएको मन्दी तथा उच्च ब्याजदरका कारण धितोपत्र बजारु लामो समयसम्म नकारात्मक दिशामा देखिएको । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न नसकेको र निक्षेप पनि बढेपछि बैंकिङ क्षेत्रमा अधिक तरलता हुन पुग्यो । त्यसले कर्जा प्रवाहमा गरिएको कडाइ खुकुलो नभएसँगै ब्याजदर पनि क्रमिक रुपमा घट्न थालेपछि धितोपत्र बजारका लगानीकर्ताको आत्मबल बढेको हो । 

मंगलबार कारोबार सुरु हुदाँ २०५९.५ अङ्कमा रहेको नेप्से परिसुचक २०.६२ अंकले बढेर २०८०.१२ अंकमा पुगेको छ । नेप्सेमा कारोबार भएका आधिकांश समूहगत परिसूचकमा सुधार आएपछि समग्र बजार सूचक नेप्से बढेको हो । साथै मंगलबार नेप्सेमा कारोबार भएका एक सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ । 

मंगलबार नेप्सेमा कारोबार भएका समुहगत परिसूचक मध्ये बैंकिङ ७.७९, विकास बैंक २०६.०५, फाइनान्स ६४.४६, होटल १५२.२८, लगानी १.०१, जिवन बीमा १०१.०६, माइक्रो फाइनान्स ४०.८३, निर्जीवन बीमा ६७.६४, अन्य २८.९४, ब्यापार समुह २६.८६ अङ्कले बढेका छन् । तर, जलविद्युत ११.४९, उत्पादन मूलक २.४७ र सामूहिक लगानी कोषको समूहगत सुचक ०.०२ अंकले घटेको छ । 

मंगलबार नेप्से सूचक संगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा कारोबार भएका ३०९ कम्पनीको एक लाख ४ हजार ६ सय १९ कारोबारबाट ६ अर्ब ११ करोड ८३ लाख रुपौयँ बराबरको एक करोड ७९ लाख ४९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा करिब डेढ अर्बले धेरै हो । सोमबार नेप्सेमा ४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँका बराबरको सेयर खरिद बिक्री भएको थियो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।