एचआईडिसिएलले जलविद्युतमा ३६ अर्ब रुपैयाँ लगानी गर्दै

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको आठौँ वार्षिक साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गरेको छ ।

कम्पनीको सोमबार सम्पन्न साधारण सभाले १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, प्रधानमन्त्री राहत कोष मार्फत प्रदेश नं. २ को मुख्यमन्त्री राहत कोषमा ४ लाख जम्मा गरिएको अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १७ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो। जस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले पारित लाभांश पाउनेछन् । कम्पनीले १ अर्ब ३२ करोड बराबरको नगद लाभांश वितरण गर्नेछ ।

साधारणसभामा कम्पनीका अध्यक्ष तथा उर्जा सचिव दिनेशकुमार घिमिरेले ५ वर्षे व्यवसायीक योजना अन्तर्गत निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागिएको जानकारी दिए । आर्थिक वर्ष २०७४/०७५ देखि नै पाँच वर्षे व्यवसायीक योजना लागू भइसकेको भएपनि यो वर्षदेखि प्रभावकारी कार्यान्वयनमा जाने उनले बताए ।

कम्पनीले पाँच वर्षे व्यवसायीक योजना अन्तर्गत गत आर्थिक वर्षसम्ममा कुल ५ सय ३३ मेगावाट क्षमताका आयोजनामा ६ अर्ब १ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य लिएपनि अहिलेसम्म कुनैपनि आयोजनामा लगानी गरेको छैन्।