नागवेली लघुवित्तले २६ प्रतिशत बोनस दिएर २५ % हकप्रद बिक्री गर्ने

0
Shares

नागवेली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गर्न माघ २६ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ।
सभा सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान १०.३० मा शुरु हुनेछ ।

उक्त साधारण सभाले २६ प्रतिशत बोनस शेयर र कर सहित १.३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ। साथै बोनस वितरण पश्चात कायम हुने चुक्तपूँजीको ४ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनीको कार्यतालिका रहेको छ।

त्यस्तै संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्ने गरी संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारण समूहमा रुपान्तरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त ‘घ’ वर्गका वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु पूरा गर्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका माघ १३ गते (एक दिन) बन्द रहनेछ । माघ १२ गतेसम्म शेयर कायम भएका शेयरधनीहरु मात्र साधारण सभा प्रयोजनका लागि योग्य हुनेछन् ।

यसअघि राष्ट्रियस्तरको लघुवित्त बन्ने लक्ष्यसहित नागबेलीले मिर्मिरे र किसान माइक्रोफाइनान्ससँग गत वैशाख ३० मा मर्जरमा जाने सम्झौता गरेको थियो । तर स्वाप नमिलेपछि मर्जर प्रक्रिया भाँडिएको थियो । त्यस यता कम्पनीको शेयर कारोबार रोक्का छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १६ करोड ७६ लाख छ ।बोनस वितरणपछि चुक्ता पुँजी २१ करोड १२ लाख पुग्नेछ । त्यस पश्चात कम्पनीले २५ प्रतिशत हकप्रद बिक्री गर्नेछ ।