आयात घट्दा चालु खाता डेढ खर्ब बचतमा, शोधनान्तर स्थिति २ खर्ब १० अर्बले बचतमा

0
Shares

चालु आर्थिक वर्षको सुरुवातदेखि आयातमा आएको कमीको प्रभाव चालु खातामा देखिएको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण आर्थिक गतिविधि विस्तार हुन नसक्दा घटेको आयातले चालु खातालाई बचतमा पु्रयाएको हो ।

चालु आर्थिक वर्षको कात्तिक महिनामा ३.८ प्रतिशतले आयात घट्दा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा थियो । मंसिर महिनामा पनि आयात ३.४ प्रतिशतले घट्दा चालु खाता बचत बढेर एक खर्ब ४० अर्ब २३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी कात्तिक महिनाको तुलनामा मंसिरमा शोधनान्तर स्थिति पनि ६३ अर्ब ४८ करोडले बढेर २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा चालु खाता एक खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता चालु आवको पाँच महिनामा १ अर्ब ५ करोडले बचतमा रहेको हो ।

चालु आवको मंसिरसम्ममा पुँजीगत ट्रान्सफर भने १७.२ प्रतिशतले घटेको छ । मंसिरसम्मको कुल पुँजीगत ट्रान्सफर २ अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोडले धनात्मक रहेको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक रहेको थियो ।

चालु आवको पाँच महिनासम्ममा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको मंसिरसम्ममा १ अर्ब ५८ करोडले बचतमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।